कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा निर्विरोध निर्वाचित- समाचार - कान्तिपुर समाचार

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा निर्विरोध निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस म्याग्दीको सभापतिमा खमवीर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको जिल्ला अधिवेशनले गर्बुजालाई निर्विरोध सभापतिमा चयन गरेको हो ।

सभापति पदमा गर्बुजाको मात्रै उम्मेदवारी परेका कारण गर्बुजा निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिए । उनी यसअघि पनि जिल्ला सभापति नै थिए । ‘सभापतिमा उहाँको मात्रै उम्मेदवारी दर्ता भयो । कसैको दाबी/विरोध परेन,’ उनले इकान्तिपुरसँग भने, ‘त्यसैले उहाँ नै सर्वसम्मत सभापति बन्नुभएको छ ।’

गर्बुजा सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । अन्य पदहरुमा भने एकभन्दा बढीको उम्मेदवारी परेको छ । ‘उम्मेदवारी फिर्ता लिने समय बिहीबार बिहान ८ बजेसम्म छ । सहमतिको प्रयास गर्छौ भन्नुभएको छ, सहमति भएन भने निर्वाचन प्रक्रिया अघि बढाउछौँ,’ निर्वाचन अधिकृत राजभण्डारीले भने ।

प्रकाशित : मंसिर १, २०७८ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीमा कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न दशरथचन्द नगरको पत्र

तृप्ति शाही

बैतडी — नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्न भनेको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले आग्रह गरेको हो ।

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा नगरपालिकाका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई छुट्टी दिई भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजीयाले विद्यालयलाई पत्र आइसकेपछि विद्यालयले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको बताएका छन् । उनले भने,‘बुधबार ३ बजेतिर पालिकाको स्थानीय बिदामा कटाउने गरी ३ दिन कांग्रेस अधिवेशनको लागि विद्यालय बन्द गर्ने भनेर पत्र आएको थियो । विद्यालयले यसरी बन्द गराउन नमिल्ने होला भनेर हामीले माथिल्लो निकायलाई पत्र पठाएको छौं । भोलिसम्म जवाफ आउला । ’

जिल्लाका विद्यालय छुट्टी गरेर सधैंजसो सबै पार्टीका विभिन्न कार्यक्रमहरु भइरहेका स्थानीय बताउँछन् ।

यसैबीच, नेपाली कांग्रेस बैतडीले ४ दिनका लागि विद्यालय भवन तथा फर्निचर उपलब्ध गराउन वीरेन्द्र माविलाई पत्र लेखेको छ ।

सभापति नरेन्द्रसिंह थापाले कांग्रेसको यही मंसिर ४ देखि ८ गतेसम्म हुने क्षेत्र तथा जिल्ला अधिवेशन उद्घाटन तथा निर्वाचन प्रयोजनका लागि आवश्यक भवन तथा फर्निचर उपल्बध गराउन विद्यालयलाई निवेदन पठाएका हुन् ।

प्रकाशित : मंसिर १, २०७८ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×