कांग्रेसमा अर्को धार बनाउँदै प्रकाशमान

विरासतको आडमात्र नभई अन्तर्राष्ट्रिय समर्थन जुटाउनसमेत दौडधूप
२०४७ देखि एकदशक काठमाडौ सभापति भएका सिंहको उपत्यकाका तीन वटै जिल्लामा बलियो पकड
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०५७ कात्तिकमा काठमाडौंसहित १६ जिल्लाका कार्यसमिति भंग गरे । काठमाडौं सभापति प्रकाशमान सिंहसहितका नेताहरू केन्द्रीय कार्यालयमा धर्ना बसे । तर कोइरालाले निर्णय फिर्ता लिएनन् । त्यसको तीन महिनापछि पोखरामा भएको दसौं महाधिवेशनमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहपुत्र प्रकाशमान लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित भए । महाधिवेशनमा सिंहसँगै बीपीपुत्र प्रकाश कोइराला र महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि पनि पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

कांग्रेसमा अर्को धार बनाउँदै प्रकाशमान

उतिबेला सिंह केन्द्रीय सदस्य निर्वाचित हुनुमा गणेशमानको पारिवारिक विरासतमात्र होइन, राजधानी रहेको जिल्लाको बलियो जनमत पनि थियो । पार्टीको महामन्त्री, उपसभापति र सरकारको उपप्रधानमन्त्री भइसकेका सिंह आसन्न १४ औं महाधिवेशनमा सभापतिको दाबेदार छन् । दुई दशकअघि केन्द्रीय सदस्य बन्ने बेलाझैं अहिले पनि उनको उम्मेदवारीमा काठमाडौंको आड छ । ‘धेरै मतदाता भएको काठमाडौंमा उहाँको बलियो पकड छ, राष्ट्रिय उचाइ बनाइसकेकाले अन्य जिल्लामा पनि राम्रै प्रभाव छ,’ उनीनिकट नेता राजुराज जोशी भन्छन्, ‘त्यसैले पनि यसपटक सभापतिमा उम्मेदवारी दिने निश्चित छ, उहाँ धेरै अघि बढिसक्नुभएको छ ।’

२०४७ देखि एक दशक जिल्ला सभापति भएका सिंहको काठमाडौंको कांग्रेस राजनीतिमा बलियो पकड छ । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित करिब २ सय ७० महाधिवेशन प्रतिनिधि चुनिन्छन् । उनीनिकट नेताहरूका अनुसार यसपटक सिंहले कम्तीमा ८ निर्वाचन क्षेत्र जित्ने गरी अधिवेशनको तयारी गरेका छन् । केन्द्रीय सदस्य गगन थापासँग जिल्ला अधिवशेनसम्म सँगै जाने गरी भएको सहमतिले पनि उनलाई काठमाडौंमा बलियो बनाएको छ । सिंहइतरले भने १० निर्वाचन क्षेत्रमध्ये आधामा सीमित गर्ने गरी गठजोड बनाएका छन् । वाग्मती प्रदेश सभापतिमा उम्मेदवारी दिने तयारी गरेका सिंहनिकट नेता जोशीले काठमाडौं जिल्लाबाट मात्र सिंहको पक्षमा २ सय हाराहारी महाधिवेशन प्रतिनिधि निर्वाचित हुने दाबी गरे । उपत्यकाका अन्य जिल्ला ललितपुर र भक्तपुरमा पनि सिंहको राम्रो प्रभाव रहेको दाबी जोशीको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट करिब ४ सय महाधिवशेन प्रतिनिधि छानिन्छन् । यो संख्या कर्णाली प्रदेशबाट निर्वाचित हुनेभन्दा ठूलो हो ।

काठमाडौं जिल्ला सभापतिबाट केन्द्रीय सदस्य भएका सिंह २०५९ मा कांग्रेस विभाजन भएपछि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) मा लागे । पार्टीमा उनी उपसभापति भए । विभाजनको ५ वर्षपछि पार्टी एकीकरण भएसँगै उपसभापतिकै हैसियतमा कांग्रेसमा फर्किए । २०६७ असोजमा भएको १२ औं महाधिवेशनमा विमलेन्द्र निधिलाई हराउँदै महामन्त्री बनेपछि सिंह पार्टीको राष्ट्रिय राजनीतिमा स्थापित भए । त्यही बलमा १३ औं महाधिवेशनमा सभापतिमा दाबी गरे पनि अन्तिम समयमा उनले रामचन्द्र पौडेललाई समर्थन गरेका थिए । यसपटक पूर्वसहमतिअनुसार पौडेलले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने सिंहको भनाइ छ । तर पौडेलसँगै उक्त समूहका नेताहरू शशांक कोइराला र शेखर कोइरालाले पनि आफ्नो दाबेदारी बलियो बनाउँदै लगेका छन् । सिंहको दाबेदारीमा पिता गणेशमानको राजनीतिक विरासतले पनि साथ दिएको छ । तर १४ औं महाधिवेशनमा सिंहसँगै संस्थापक नेत्रापुत्रद्वय शशांक (बीपीपुत्र) र विमलेन्द्र (महेन्द्रनारायण पुत्र) ले पनि सभापतिमा दाबी गरिरहेका छन् ।

पछिल्लो समय सिंह पौडेलसँग टाढिँदै गएका छन् । तिहारअघि नेता रामशरण महतको निवासमा बोलाइएको समूहको बैठकमा उनी सहभागी भएनन् । शुक्रबार बत्तिसपुतलीस्थित एक होटलमा भएको समूहको बैठकको बेला उनी भारतमा थिए । १३ औं महाधिवेशनमा भएको सहमतिविपरीत पुन: सभापतिमा दाबी गरेकाले पौडेलप्रति उनी चिढिएका छन् । ‘उहाँले अघिल्लोपटक नै मलाई १४ औं महाधिवेशनमा सभापतिमा सहयोग गर्छु भन्नुभएको थियो, तर अहिले आफंै अघि सर्नुभएको छ,’ उनले निकटस्थ नेताहरुसँग भन्ने गरेका छन्, ‘अब उहाँले चुनाव लड्ने होइन, अभिभावक बनेर हामीलाई नेतृत्वमा स्थापित गर्नुपर्छ ।’ एक महिनाअघि मन्त्रिपरिषद् विस्तारका बेला पौडेलसँग उनको सम्बन्ध थप चिसियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुई मन्त्री दिँदा सिंहले आफूनिकट राजन केसीलाई मन्त्री बनाउन चाहेका थिए । तर समूहमा उनको कुरा सुनुवाइ भएन । ‘त्यसैले पनि प्रकाश दाइले पछिल्लो समय पौडेलको साथ छाड्नुभएको छ,’ उनीनिकट एक नेताले भने, ‘पार्टीभित्र व्यक्तिगत पकडको हिसाबले पनि उहाँ कमजोर हुनुहुन्न ।’

पौडेल समूहबाट सभापति दाबी गरिरहेका कोइराला दाजुभाइलाई त उनी स्विकार्ने पक्षमा छैनन् । उनी दुवै जनालाई राजनीतिमा आफूभन्दा ‘जुनियर’ र पारिवारिक राजनीतिक विरासतको फेर समातेर राजनीतिक लाभ लिएको बताउँछन् । २०७४ फागुनमा भएको संसदीय दलको निर्वाचनमा शशांकले देउवालाई सहयोग गरेपछि सिंह–शशांक सम्बन्ध इगोमा परिणत भएको छ । त्यतिमात्र होइन, सिंहको मानसिकतामा कोइरालाप्रति पुरानो इगो पनि गढेको देखिन्छ । पार्टी स्थापना र प्रजातान्त्रिक आन्दोलनको सुरुवाती चरणमा बीपीको काठमाडौं बसाइँलाई सहज बनाइदिनेदेखि जिन्दगीभर राजनीतिक सारथि बने पनि पार्टी नेतृत्वबाट आफ्नो पितालाई वञ्चित गरिएको सिंहले गुनासो गर्दै आएका छन् । ‘मेरो बुवा जिन्दगीभर कोइरालालाई सफल बनाउन लागिपर्नुभयो, तर सभापति बन्न दिइएन,’ उनले निकटस्थसँग भन्ने गरेका छन्, ‘अहिले पनि कोइराला भएकै कारण मभन्दा जुनियरलाई नेता मान्न सक्दिनँ ।’ २०१२ माघमा भएको कांग्रेसको छैटौं महाधिवेशनमा गणेशमान सभापतिको आकांक्षी रहे पनि बीपीले सुवर्णशमशेरलाई समर्थन गर्दा उनी नेतृत्वबाट वञ्चित भएका थिए । पञ्चालयकालमा पनि बीपीले कार्यबाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई दिएका थिए ।

कांग्रेस राजनीतिमा राष्ट्रिय उचाइ बनाए पनि सिंहको देशव्यापी छुट्टै समूह भने छैन । उनी १२ औं महाधिवेशन अघिसम्म कोइरालाविरोधी खेमामा थिए । उक्त महाधिवेशनमा भने सुशील कोइराला प्यानलबाट महामन्त्री निर्वाचित भए । त्यसयता उनी देउवाइतर समूहमा छन् । देउवाको कार्यशैलीबारे सबैभन्दा चर्को आलोचना गर्ने नेतामा उनी पर्छन् । ६६ वर्षीय सिंह सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवै जनाले नेतृत्वको चाहना त्यागेर संरक्षकको भूमिकामा बस्नुपर्ने धारणा राख्छन् । पार्टीको नेतृत्वमा पुग्न उनले काठमाडौंको आडमात्र नभई अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास पनि गरिरहेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जगतप्रकाश नाड्डालाई भेट्न बिहीबार नेपालगन्जको बाटो हुँदै नयाँदिल्ली गएका थिए । उनीसँगै गएका नेता जोशीले भारत भ्रमणमा महत्त्वपूर्ण राजनीतिक भेटघाट भएको बताएका छन् ।

प्रकाशित : मंसिर १, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?