कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ह्वीलचियरबाट जनगणना

भवानी भट्ट

कञ्चनपुर — हरेक दिन उनी ह्वीलचियर गुडाउँदै घरघर पुग्छन् । ह्वीलचियरमै झुन्ड्याएको झोलाबाट प्रश्नावली निकाल्छन् र विवरण भर्छन् । एउटा घरमा २०/२५ मिनेटदेखि आधा घण्टासम्म लाग्छ । फेरि अर्को घरमा लाग्छन् । ह्वीलचियर जाने बाटो नभए वल्लोपल्लो घरमै बोलाएर विवरण भर्छन् ।

ह्वीलचियरबाट जनगणना

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय योगेन्द्र खड्का एक सातादेखि यस्तै काममा व्यस्त छन् । ९ वर्षअघि दुर्घटनामा परेर मेरुदण्डको पक्षघातका कारण अपांगता भएका उनले १२ औं राष्ट्रिय जनगणनामा गणकको जिम्मेवारी पाएका हुन् । अनलाइनमार्फत छनोट भएका उनी आफ्नै वडामा विवरण संकलन गर्न व्यस्त छन् ।

खड्का बिहान ८ बजे घरबाट निस्किन्छन् । साढे ८ बजेसम्म जनगणनाका लागि विवरण संकलन गर्न तोकिएको घरमा पुग्छन् । ८० वटा प्रश्न भएको प्रश्नावली भर्छन् । एक दिनमा २० देखि २५ घरसम्म भ्याइने उनले बताए । ‘ठूलो परिवार भए बढी समय लाग्छ, एउटा परिवारमा २०/२५ मिनेटदेखि आधा घण्टासम्म लाग्छ ।’ उनी साँझ ५ बजेपछि मात्रै घर फर्किन्छन् ।

खड्काले मंसिर ९ सम्म २ सय ७३ घरको गणना गर्नुपर्नेछ । मंगलबारसम्म १ सय ७३ घरमा पुगेर विवरण संकलन गरिसकेका छन् । ‘कतिपय घरमा सूचनादाता नभेटिएका कारण पुनः जानुपरेको छ,’ उनले भने ।

‘कतिपय निरक्षर हुँदा पनि विवरण भर्न ढिलो हुने गरेको छ,’ उनले भने । कुनै घरमा पुग्न नसक्ने भए छिमेकीको घरमा बोलाएर पनि प्रश्नावलीको विवरण भर्छन् । वडा ५ मा अधिकांश सडक ग्राभेल छन् । यस्तोमा ह्वीलचियर चलाउनै गाह्रो हुन्छ । भएका कालोपत्रे सडक पनि भत्केर निकै समस्या हुने गरेको खड्काले गुनासो गरे ।

कञ्चनपुरमा राष्ट्रिय जनगणनाका लागि ४ सय ७७ गणक खटिएका छन् । तीमध्ये अपांगता भएका ३ गणक र २ सुपरिवेक्षक छन् । ह्वीलचियरमै गणना गर्ने खड्का भने एक्ला हुन् । जिल्ला जनगणना कार्यालयले गणकहरूलाई तालिम दिँदा खड्काले नै अपांगताको शीर्षकमा सहजीकरण गरेका थिए । ‘शारीरिक रूपमा अपांग भए पनि काममा निकै सक्रिय भएर लाग्नुहुन्छ,’ जनगणना कार्यालयका प्रमुख गोविन्दप्रसाद न्यौपानेले भने, ‘उहाँमा कामप्रति निकै उत्साह देखेको छु ।’

खड्काको पुर्ख्यौली घर डोटीको आदर्श गाउँपालिका हो । कृषि विज्ञानमा स्नातक गरेका उनी सुर्खेतमा एक गैरसरकारी संस्थामा फिल्ड सुपरभाइजरका रूपमा काम गर्थे । कामकै सिलसिलामा फिल्ड जाने क्रममा २०६९ पुस १३ गते सुर्खेतको गमखोलामा उनी चढेको बस दुर्घटना हुँदा घाइते भए । काठमाडौंमा दुई महिनाको उपचारपछि उनी होसमा आए । सात महिनासम्म उपचार गरेर घाउचोट निको भए पनि मेरुदण्ड काम नलाग्ने भयो ।

काठमाडौंबाट उनलाई सिधै घर ल्याइयो । परिवारले बेवास्ता गर्न थालेपछि घर छाडेर हिँडे । धनगढी जान हिँडेका उनी महेन्द्रनगर पुगे । तीन वर्ष महेन्द्रनगरकै वृद्धाश्रममा बसे । त्यसपछि महेन्द्रनगरमै एक गैरसरकारी सस्थामा अपांगतासम्बन्धी काममा लागे । त्यसले केही सहज भयो । आमाबुबा र भाइले छाडेपछि श्रीमती बिस्नाले उनलाई छोडिनन् । दुवै मिलेर वडा नं. ५ मै आधाकट्ठा जमिन किनेर घर बनाए । घर बनाउँदा लागेको ऋण भने अझै तिर्न नसकेको उनले बताए ।

खड्काले कृषि प्राविधिकका लागि लोक सेवामार्फत लिइएका परीक्षामा १२ पटक नाम निकाले । तर मौखिकमा नाम निकाल्न नसक्दा जागिर पाएनन् । उनले केही वर्ष महेन्द्रनगरकै निजी कलेजहरूमा कृषि विषय पढाए । पछिल्लो पटक घरमै बेरोजगार भएका बेला गणकका लागि उनले अनलाइन फाराम भरेका थिए । ‘एक महिनाकै लागि भए पनि घर खर्च चलाउन सजिलो हुन्छ,’ उनले भने, ‘घरमा खाली बस्दा दिक्क भएका बेला काम पनि सकिन्छ, दिन काट्ने बाटो पनि हुन्छ ।’ खड्काकी श्रीमती बिस्ना महाकाली प्रादेशिक अस्पतालमा स्विपरको काम गर्छिन् । त्यसैबाट परिवारको खर्च चलेको छ । ९ वर्षकी छोरी प्रतिभालाई एक निजी विद्यालयले निःशुल्क पढाइदिएको छ ।

प्रकाशित : मंसिर १, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?