२४ घण्टामा नेपालमा थपिए ३६७ कोरोना संक्रमित, २७० डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ७ हजार ५५४ पीसीआर परीक्षणमा ३६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ३३३ पुगेको छ । 

यस्तै एन्टिजेन विधिद्वारा ४ हजार ८४८ परीक्षण हुँदा ४९ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ४०२ परीक्षण हुँदा ४१६ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ । २४ घण्टामा ७४ हजार ४५२ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २९, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्

उराठलाग्दो तातोपानी नाका

अनिश तिवारी

तातोपानी,सिन्धुपाल्चोक — खण्डहरजस्तै लाग्ने क्षतिग्रस्त घरटहरा । पहिरैपहिरोबीच ध्वस्त घरले भरिएको बजार । माथिबाट पहिरो, तल्लो भूभाग घामपानीले मक्किँदै भासिइरहेछ । तिनै भग्नावशेषबीच खाली कन्टेनरको लस्कर नै छ । कुनै बेला खासा व्यापारको लागि चर्चित जिल्लाको भोटेकोसी गाउँपालिका वडा–२ स्थित तातोपानीबाट चीन जोड्ने नाकाको भौतिक संरचना अचेल उराठलाग्दो देखिन्छ ।

सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरवेल पुल उस्तै क्षतिग्रस्त छ । हाल कोदारी बजारभन्दा पल्लोपट्टिको क्षेत्र पूरै खण्डहर बनेको छ । नाकाको मितेरी पुल, सुरक्षाकर्मी चेकपोष्टसहित अध्यागमन कार्यालयको भवनबाहेक सबै संरचना पूरै जीर्ण अवस्थामा छन् । तर सडकको मर्मतसम्भार नगरिँदा बजार खण्डहर बनेको छ भने सडक कन्टेनरलाई धराप राखेजस्तै देखिन्छन् । ०७२ सालको भूकम्पले तातोपानी नाका क्षतिग्रस्त बनाएको थियो । ०७३ को भोटेकोसीको बाढीले त यहाँको भौतिक संरचना ध्वस्त बनाइदियो ।

त्यसयता हरेक वर्ष बाढीपहिरो लगायत प्राकृतिक विपद्ले गर्दा यस क्षेत्रको व्यापार कहिल्यै उठ्न सकेन । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार भूकम्पको चार वर्षपछि मालवाहक सवारीका लागि खुलाइएको नाका भोटेकोसी बाढीपहिरो, कोरोना महामारी र ताल फुट्ने हल्लाले झनै खुम्चाइदियो । ‘त्यसपछि नाका कहिल्यै सन्तुलनमा आएन, कोभिड क्षेत्रबीच तातोपानीलाई सुरक्षित अवस्थामा ल्याउन खुब दौडियौं, तैपनि नाका सहज हुने वातावरण बनेन्, न यहाँको भौतिक संरचना मर्मत् सम्भारबारे कुरा उठाइयो,’ पौडेलले भने । ताल फुट्ने र कोरोना महामारीको कारण देखाउँदै चीन पक्षले एकतर्फी आयातको रुपमा मात्रै नाका खुलायो । त्यो पनि नियमित सञ्चालनमा आउन सकेन ।

यसरी २० वर्षदेखि चल्दैआएका एक हजार चार सय मालवाहक कन्टेनर, २ हजार ८ सय चालक र पाँच हजार मजदुरका परिवार बेरोजगार र विस्थापित हुनुपर्‍यो । यसअघि तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावाना भएकाले तातोपानी नाकाबाट कारोबार नर्गन नागरिकलाई सूचना जारी गरेको थियो । पछिल्लो समय तातोपानी नाका खण्डहर बन्दा व्यापारीहरू निराश देखिन्छन् ।


प्रकाशित : कार्तिक २९, २०७८ १६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×