निर्मला-नन्‍कुन्‍नी घटना

पुरानै प्रमाणको भरमा प्रहरी

नेपालगन्ज — नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता, अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता भएको थियो । हत्याजस्तो गम्भीर अपराध घटनामा प्रहरी अनुसन्धानमा संवेदनशील नभइदिँदा आरोपित बनाइएकामध्ये कांग्रेस नेता कुर्मी हाजिरी जमानीमा छाडिएका छन् । अन्य ७ जनालाई प्रहरीले डेढ वर्षसम्म घटनाबारे सोधपुछसमेत गरेन ।

पुरानै प्रमाणको भरमा प्रहरी

आरोपितलाई अनुसन्धानको दायरामा नल्याएपछि अधिकारकर्मीको दबाबपछि मात्र निर्मला प्रकरणको फाइल खुल्यो । प्रहरी अहिले पुरानै प्रमाणको भरमा छ । नयाँ प्रमाणको खोजी प्रहरीबाट गरेको देखिँदैन । शरीर बन्धक, अपहरण र हत्या घटनाको जाहेरी दर्ता भएपछि नै प्रहरीले अनुसन्धान थालेको भए धेरै प्रमाण फेला पर्नसक्थ्यो ।

हाल आरोपितहरूले भारतबाट थुप्रै नक्कली प्रमाणहरू बनाएको अधिकारकर्मीहरूको दाबी छ । प्रहरीले निर्मलाको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको दाबी गरेको छ । निर्मला र नन्कुन्नी धोबी घटनाको छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।

‘हत्याजस्तो घटनामा प्रहरीले पुरानो सिलसिलामा रहेका प्रमाणबाहेक घटना पुष्टि गर्ने प्रमाणहरूको खोजीका लागि अनुसन्धान गर्नैपर्छ । अनुसन्धानबाट प्रहरी पन्छिन मिल्दैन,’ नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले भने । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले पक्राउ पुर्जी जारी गरेपछि अभियुक्तहरू आफैं सम्पर्कमा आएको बताए ।

‘घटनाको पुस्ट्याइँका लागि पनि अनुसन्धान लम्ब्याएका थियौं,’ उनले भने, ‘अहिले बयान लिने काम गरिरहेका छौं । प्रहरीले अनुसन्धान गर्ने हो र सरकारी वकिल कार्यालयले अभियोग लगाउने हो । अदालतले फैसला गर्ने हो । आफैंले अपराधी घोषणा गर्ने र सजाय दिने काम प्रहरीको होइन ।’

तर, बेपत्ता भनिएकी निर्मलाले २०७० सालतिर भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेको र मृत्यु भइसकेको प्रहरीको प्रारम्भिक अनुन्धानबाट खुलेको उनले दोहोर्‍याए ।

भरतमै दोस्रो विवाह भएको, त्यहीँ उनको मृत्यु भइसकेको फोटो प्राप्त भएको र अनलाइनमा मृत्यु दर्तासमेत राखिएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार २०७६ चैत १४ मा उनको मृत्यु भएको हो । रुपैडिया नाकाबाट १५ किलोमिटर टाढा पर्ने जगन्नाथपुरको बलहामा उनको मृत्यु भएको विवरण खुलाइएको छ । तर, निर्मलाको विवाह र मृत्यु दर्ता आरोपितमध्येका रमेश थापाले बनाएर प्रहरीलाई दिएको आरोप छ ।

२०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो । २०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको जाहेरी दर्ता गरेका थिए ।

साविक परस्पुर–९ का ओमकार कुर्मीले २०६८ कात्तिक १७ मा अपुताली भएको दाबी गर्दै निर्मलाका पति महलुको सम्पूर्ण जग्गा सार्वजनिक गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका बेला निर्मलाले भारतमा दोस्रो विवाह गरेको कागज फर्जी भएको प्रशासनले प्रमाणित गरेको थियो ।

निर्मला कुर्मी बेपत्ता प्रकरण : प्रतिवेदन कार्यान्वयन माग गर्दै धर्ना र विरोध

प्रकाशित : कार्तिक २९, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?