कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुस्ताङ हिमपहिरो : भागदौड मच्चिँदा ७ विद्यार्थीसहित ११ जना घाइते [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका छन् । 

मुस्ताङ हिमपहिरो : भागदौड मच्चिँदा ७ विद्यार्थीसहित ११ जना घाइते [अपडेट]

नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको पनि प्रहरी प्रमुख दानीले बताए । पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ । बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।‘त्यस क्षेत्रमा हामी दुई जनाको गोठ थियो । चौरीहरू हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’, थासाङ गाउँपालिका २ नाउरीकोटका चौरीपालक किसान सकेन्द्र गौचनले भने, ‘केही चौरी त पारि पाखामा देखिएका छन् । अरु चौरीबारे जानकारी आएको छैन ।’

थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय किसानहरू हिमपहिरोबाट प्रभावित हुनसक्ने बताएकी छन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको उनले बताइन् । अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घन्टा लाग्‍ने थासाङ गाउँपालिकाकी उपाध्यक्ष शेरचनले बताइन् ।

घटना आइतबार बिहान साढे १० देखि ११ बजेतिर भएको थियो ।

यो पनि

प्रकाशित : कार्तिक २८, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?