२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेकपा मालेको आठौं महाधिवेशन चितवनमा सुरु

रमेशकुमार पौडेल

चितवन — नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि चितवनको नारायणगढमा सुरु भएको छ । सोमबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गर्नेछ ।

नेकपा मालेको आठौं महाधिवेशन चितवनमा सुरु

पार्टीका महासचिव सीपी मौनालीले शनिबार नारायणी कलामन्दिरमा महाधिवेशनको उद्घाटन गरे । बन्दसत्र पनि सोही ठाउँमा हुने बताइएको छ । महाधिवेशनमा विभिन्न आठवटा दस्तावेज र प्रतिवेदनहरूमाथि छलफल र निर्णय हुनेछ ।

मालेका नेताहरूका अनुसार पार्टीको आगामी नेतृत्व पनि मैनालीले नै गर्ने लगभग पक्कापक्की जस्तै छ । पार्टीका स्थायी समिति सदस्य तथा अधिवेशन मूल व्यवस्थापन समितिका संयोजक दिनानाथ घिमिरेले मालेमा जसको नीति पारित हुन्छ त्यसैको नेतृत्व रहने बताएका छन्।

पार्टीले सीपी मैनालीको ‘नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद’लाई ५९ सालको चैत्रदेखि मूल रणनैतिक नीति मानेर आएको छ । सो नीतिका विषयमा हालसम्म फरक मत आएको छैन । त्यसैले पनि महासचिव मैनालीले नै पार्टीको नेतृत्व गर्ने निश्चितप्राय: भएको मालेका नेताहरू बताउँछन् ।

अब बन्ने नयाँ केन्द्रीय समितिले महासचिव नियुक्त गर्ने, स्थायी कमिटी र पोलिटब्यूरो निर्माण गर्ने तथा पार्टीका विभिन्न २० वटा विभागहरूको नेतृत्व टुङ्ग्याउने पार्टीका पोलिटब्यूरो सदस्य भगवति घिमिरेले जानकारी दिइन् ।

महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधिले भाग लिएका छन् । मालेले अब संसदीय व्यवस्थाको विकल्प खोज्न आवश्यकता देखेको महासचिव मैनालीले बताएका छन् ।

‘असफल भइसकेको बेलायती मोडलको संसदीय व्यवस्थालाई विस्थापित गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था कायम गरौं भन्ने हाम्रो जोड छ’ महासचिव मैनालीले भने । मालेले आफ्नो पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओ बिचारधाराका साथ नेपाल चिन्तनलाई मान्ने गरेको छ ।

नेकपा (माले) अहिलेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को प्रारुप पनि हो । वि सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली थिए। उनी ०३९ सालसम्म महासचिव रहे । ०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) नामाकरण भएको हो । मैनाली ०५४ सालको फागुनसम्म एमालेमै थिए ।

०५४ सालको फागुन २१ मा एमाले विभाजित हुँदा बामदेव गौतमले पार्टी फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि मालेमै आएका थिए । ०५८ सालको फागुनमा बामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा गएपछि सीपी मैनालीले नेकपा मालेको पुनर्गठन र नेतृत्व गर्दैआएका छन् । नेकपा एमालेले पनि आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमै पार्टीको १० औं महाधिवेशन आयोजना गरेको छ ।

प्रकाशित : कार्तिक २७, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?