१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'अपांगता भएका व्यक्तिहरूको यथार्थ गणना भएकै छैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — अपांगता भएका व्यक्तिहरूको यथार्थ गणना नै अहिलेसम्म नभएको सरोकारवालाको गुनासो छ । भरपर्दो तथ्यांकको अभावले प्रभावकारी योजना, नीति तथा कार्यक्रम बन्न नसक्दा अपांगता भएका व्यक्तिहरू राज्यबाट पाउने सेवासुविधा र अवसरबाट वञ्चित भइरहेको उनीहरूको भनाइ छ ।

'अपांगता भएका व्यक्तिहरूको यथार्थ गणना भएकै छैन'

अपांगता भएका व्यक्ति र परिवार सामाजिक तिरस्कार खेप्नुपर्ने डरले यथार्थ परिचय दिन हिच्किचाउँदा वास्तविक तथ्यांक नआएको अपांगता भएका व्यक्तिका अगुवाको दाबी छ । २०६८ सालको जनगणना अनुसार अपांगता भएका व्यक्तिको जनसंख्या ५ लाख १३ हजार ३ सय २९ छ, जुन कुल जनसंख्याको १.९४ प्रतिशत मात्रै हो ।

यो तथ्यांक विश्व स्वास्थ्य संगठनले अनुमान गरेको (कुल जनसंख्याको १५ प्रतिशत) भन्दा निकै कम देखिन्छ । विश्व बैंकका अनुसार विश्वका अति गरिब मानिसमा २० प्रतिशत अपांगता भएका व्यक्तिहरू छन् ।

बौद्धिक अपांगताको सवालमा परिवारले नै खुलाउन नचाहने समस्या छ । यसले गर्दा बौद्धिक अपांगता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य–सुविधाको पहुँचबाट वञ्चित हुन्छन् । जनगणना–२०६८ उनीहरूको संख्या १४ हजार ८ सय ८८ मात्रै छ ।

बौद्धिक अपांगता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेत परिवारले वास्तविक विवरण दिन नचाहे ‘कन्भिन्स’ गराएर गणना लिन सरकारले हरेक गणकलाई उत्प्रेरित गर्नुपर्ने बताउँछन् ।

अघिल्ला जनगणनामा भएका कमीकमजोरीको सिकाइले यसपल्ट संवेदनशील बनाएको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले बताए । ‘अपांगताको जेजस्तो अवस्था हो यकिन तथ्यांक ल्याउन हामी सकारात्मक छौं,’ उनले भने । उनले यसपालिको जनगणनामा सुस्त श्रवण र न्यून दृष्टिसहित १२ वटा समूह छुट्ट्याएर अपांगता भएका व्यक्तिहरूको गणना गर्न लागिएको जानकारी गराए ।

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार अपांगतालाई शारीरिक अपांगता, बहिरा, दृष्टिविहीन, बहिरोपन, स्वर/बोलाइसम्बन्धी अपांगता, मनोसामाजिक अपांगता, बौद्धिक अपांगता, अटिजम, हेमोफोलिया, बहुअपांगता गरेर १० प्रकारमा बाँडिएको छ ।

प्रकाशित : कार्तिक २४, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?