कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्मला कुर्मीको मृत्यु भारतमै : प्रहरी

‘उनको मृत्यु स्वाभाविक देखिन्छ, थप पुस्ट्याइँका लागि प्राप्त कागजातबारे अनुसन्धान गर्दै छौं’ 
रूपा गहतराज

नेपालगन्ज — बेपत्ता भनिएकी बाँकेको नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको भारतमा मृत्यु भइसकेको प्रहरीको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । भारतमै दोस्रो विवाह भएको, त्यहीं उनको मृत्यु भइसकेको फोटो प्राप्त भएको र अनलाइनमा मृत्यु दर्तासमेत राखिएको प्रहरीले दाबी गरेको छ ।

निर्मला कुर्मीको मृत्यु भारतमै : प्रहरी

प्रहरीका अनुसार २०७६ चैत १४ मा उनको मृत्यु भएको हो ।

रुपैडिया नाकाबाट १५ किलोमिटर टाढा पर्ने जगन्नाथपुरको बलहामा उनको मृत्यु भएको विवरणको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले नेपाल प्रहरीलाई पठाएको बाँकेका डीएसपी मधुसूदन न्यौपानेले बताए । ‘प्रहरीले गरेको अनुसन्धानले उनको मृत्यु स्वाभाविक भएको देखिएको छ,’ उनले भने, ‘तर पुस्ट्याइँका लागि प्राप्त कागजातबारे थप अनुसन्धान गर्दै छौं ।’

कुर्मीले २०६९–७० सालतिर भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेको पनि खुलेको छ । ‘अर्जुनसँग पनि बयान लिएका छौं । निर्मलाको गाउँ आएका बेला विवाह गरेर उनले भारत लगेको देखिन्छ,’ डीएसपी न्यौपानेले भने, ‘उनको बयानका आधारमा जग्गाका कारण असुरक्षित महसुस गरेर निर्मला भारत गएको र केही वर्षपछि उनको उतै मृत्यु भएको देखिन्छ ।’

यद्यपि साविक परस्पुर–९ का ओमकार कुर्मीले २०६८ कात्तिक १७ मा अपुताली भएको दाबी गर्दै निर्मलाका पति महलुको सम्पूर्ण जग्गा सार्वजनिक गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका बेला निर्मलाले भारतमा दोस्रो विवाह गरेको कागज फर्जी भएको प्रशासनले प्रमाणित गरेको थियो ।

सो घटनामा जिल्ला प्रशासन कार्यालय बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले निर्मलाको भारतमा बिहे नभएको र भारतमा कसैसँग कुनै सम्बन्ध नरहेको निर्णय सुनाएका थिए । तत्कालीन प्रजिअ घिमिरेको आदेशपत्रमा निर्मलाले आफूमाथि जग्गाकै कारण कुटपिट भएको र असुरक्षित महसुस भएको भनी निवेदन दिएको उल्लेख छ । आदेशपत्रअनुसार निर्मलाले २०६८ असोज ३० मा जीउधनको सुरक्षा गरिपाऊँ भनी निवेदन दिएकी थिइन् ।

त्यसमा प्रशासनले प्रहरीलाई जीउधनको सुरक्षा र संरक्षणमा भरपर्दो व्यवस्था मिलाउन आदेश दिएको थियो । आदेशअनुसार निर्मलाले २०६८ मंसिर १२ मा रोक्का राखिएको जग्गा फुकुवा गरिपाऊँ भनी निवेदन दिएको देखिन्छ । जिल्ला प्रशासनको आदेशमा निर्मलाले भारतीय नागरिक अर्जुनसँग विवाह गरी बसेको भन्ने प्रमाण झूटो भएको उल्लेख छ ।

प्रशासनको त्यही आदेशले अपुताली परेको निवेदन झूटो भएको तथ्य पुष्टि गरेको छ । जसमा निर्मलाको भारतमा कुनै सम्बन्ध नरहेको, अर्जुनसँग कुनै नाता नभएको र ग्रामसभाको निवासी पनि नरहेको उल्लेख छ ।

भारतीय नागरिक अर्जुनको पारिवारिक रजिस्टर र मतदाता सूचीमा निर्मलाको नाम नरहेको र उनीहरूको विवाहको सम्बन्धमा कुनै पनि पत्राचार नभएको सन् २०११ नोभेम्बर १४ मा ग्रामसभा जगन्नाथपुर पुरे बेचई जिल्ला बहराइचका प्रधान रामेश्वरद्वारा हस्ताक्षरित पत्रको छायाप्रति पेस भएको छ । आदेशको व्यहोरामा २०६८ मा निर्मलाको अर्जुनसँग कुनै पनि नाता नभएको उल्लेख छ ।

१० वर्षबीचमा निर्मलाका नाममा सबै जग्गा नामसारी गरी बिक्री पनि भइसकेको छ । भूमाफियाले जग्गा किनबेच गरेपछि निर्मलाको भारतको आधार कार्ड बन्नु, नाता नै नभएको पुष्टि गरिएको त्यही व्यक्ति अर्जुनसँग बिहे भएको प्रमाण पनि भेटिनुले निर्मलाको जग्गामा आँखा लगाउने भूमाफियाले खेल खेलेको आशंका बढेको छ ।

निर्मलालाई जग्गा नामसारी गरेको पाँच वर्षपछि भारतीय नागरिक बनाइएको छ । पाँच वर्षको बीचमा उनको सबै जग्गा बिक्री भइसकेको छ ।

निर्मलाले २०६९ असार ८ मा श्रीमान् महलु कुर्मीका नाममा रहेको जग्गा ४ बिघा ८ कट्ठा १० धुर खेतबारी र घरबारसहित साढे २ कट्ठा जग्गा आफ्नो नाममा नामसारी गरेको देखिन्छ । त्यसको दुई महिनामै उनको खेतीबारी भएको ४ बिघा ८ कट्ठा १० धुर जग्गा बर्दियाको साविक धधवार गाविस–४ की पार्वती विष्टका नाममा गरिएको छ ।

निर्मलाले पार्वती विष्टलाई २५ लाख ७५ हजार ८ सय रुपैयाँमा जग्गा बिक्री गरेको मालपोतको अभिलेखमा देखिन्छ । त्यही जग्गालाई रत्नादेवी थापाले पार्वती विष्टबाट दाखा (दाखिला खारेज) प्रक्रिया अपनाएर ३ करोड रुपैयाँ डाँक सकार (लिलामी) गरिएको छ । रत्नादेवीले पार्वतीसँग लेनदेनका आधार देखाएर मुद्दा मामिला उठान गरी डाँक सकारबाट आफ्नो नाममा जग्गा सारेकी छन् ।

कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । प्रहरीले सामान्य सोधपुछ मात्रै गरेको थियो, विस्तृत अनुसन्धान हुन सकेको थिएन ।

घटनामा प्रहरी अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै रुबी खानको समूह नेपालगन्जबाट २० दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौं पुगेका थिए । त्यसपछि उनी आमरण अनशनसमेत बसिन् । सरकारले उनीसँग वार्ता गर्‍यो र गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति पनि बनायो । त्यसपछि खानले अनशन तोडेकी थिइन् ।

समितिले प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले किटानी जाहेरीमा उल्लिखित ६ जनालाई सोमबार पक्राउ गरेको छ । तीमध्ये आरोपित ८० वर्षीय कुबर बब्बन सिंहलाई अदालतले उमेर हदम्यादका कारण साधारण तारिखमा छाडेको छ । अभियुक्तमध्ये पूर्वसभासद बादशाह कुर्मीले भदौ १० मा आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिएका थिए ।

उनी त्यतिबेलै हाजिरी जमानतमा छुटेका थिए । ‘प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि कुर्मीले आफैं उपस्थित भएर बयान दिएका हुन्,’ डीएसपी न्यौपानेले भने, ‘हामीले छाडेका होइनौं । सरकारी वकिल कार्यालयमा बयान लिएका छौं । बाहिर राखेर अनुसन्धान गरिराखेका छौं ।’

प्रकाशित : कार्तिक २४, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?