मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते 

चौकीदार र नाइकेसहित १४ कैदीबन्दीलाई अन्यत्र सारियो
विनोद भण्डारी

विराटनगर — मोरङ कारागारका चौकीदार किरण गुरुङले चरम यातना दिएको भन्दै मंगलबार दुई समूहबीच झडप हुँदा गुरुङसहित ६ कैदीबन्दी घाइते भएका छन । झडपपछि कारागार प्रशासनले चौकीदार, नाइके र भाइ नाइकेसहित १४ जनालाई अन्यत्र कारागार सरुवा गरेको छ ।

मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते 

कारागार प्रशासनका अनुसार चौकीदार गुरुङको समूह र अन्य कैदीबन्दीबीच झडप भएको हो । झडपमा चौकीदार गुरूङसहित नाइके किरण गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदीप गुप्ता रहेका छन् । निमित्त कारागार प्रमुख रामप्रसाद पोखरेलका अनुसार घाइते सबैको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू आन्दोलित भएका थिए । चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनका समूहका १४ जना नाइके र भाइ नाइकेलाई अन्य कैदीबन्दीले एउटा कोठामा थुनिदिएपछि कैदीबन्दीबीच झडप भएको कारागार प्रशासनले जनाएको छ ।

कर्तब्य ज्यान मुद्दामा कैद साजय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई शारीरिक र मानसिक यातना दिने गरेको कैदीबन्दीको गुनासो छ । उनको यातना र अत्याचार सहन नसकेपछि अन्य कैदीबन्दीहरुले गुरूङसहित नाइके र भाइ नाइकेहरू पदमकुमार लिम्बु, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनिदिएका थिए ।

थुनिएका कैदीबन्दीलाई बाहिर निकालेपछि कारागार भित्रको वातावरण शान्त भएको निमित्त कारागार प्रमुख पोखरेलले बताए । उनीहरुलाई पुन: कारागारभित्र राख्ने वातावरण नभएपछि ५ जनालाई क्षेत्रीय कारागार सुनसरीको झुम्का र ९ जनालाई झापा कारागार पठाइएको पोखरेलले बताए । उनका अनुसार ज्यान मार्ने उद्योगमा सजाय भोग्दै आएका कात्तिक कामतलाई निमित्त चौकीदार नियुक्त गरिएको छ । यो कारागारमा महिला, पुरुष गरी हजार कैदीबन्दी छन् ।

यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई काठमाडौंबाट मोरङ सरूवा गरिएपछि यो कारागारका चौकीदारसहित कैदीबन्दी एक महिनादेखि आन्दोलित थिए । गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार ल्याएको थियो । कैदीबन्दीको आन्दोलन र अवरोधका कारण उनलाई कारागारमा छिराउन नसकेपछि प्रशासनले गिरीलाई सप्तरी कारागार पठाएको थियो ।

प्रकाशित : कार्तिक २३, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?