१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदूषण गरेको भन्दै स्थानीयले लगाए चौधरी उद्योगमा ताला

नारायण शर्मा

पूर्वी नवलपरासी — दुम्कौलीमा रहेको चौधरी ग्रुपको चाउचाउ कारखानाले अत्यधिक वातवरण प्रदूषण गरेको भन्दै स्थानीयले कारखानामा तालाबन्दी गरेर सडक आन्दोलन गरेका छन ।

प्रदूषण गरेको भन्दै स्थानीयले लगाए चौधरी उद्योगमा ताला

देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने भएकाले मंगलबार बिहान तालाबन्दी गरेर विरोध गरिएको जानकारी दिए ।

'हजारौपल्ट कारखाना व्यवस्थापनलाई अनुरोध गरेको गर्‍यै छौं कहिल्यै सुनुवाई भएन,' केसीले भने, 'कारखाना सञ्चालन गर्दा चौधरी उद्योग आसापासमा धानको धुलो ( डडाल्लो) उडेर बस्नै नसकिने अवस्था छ ।'

सास फेर्न समेत गाह्रो भएकाले बाध्य भएर कारखाना बन्द गराउन परेको उनले सुनाए । कारखाना व्यवस्थापनले स्थानीयको स्वास्थ्यमा कहिल्यै पनि चासो नदेखाएकोले बाध्य भएर कारखाना वरपरका बासिन्दा विरोधमा उत्रिएका हुन् ।

दुम्कौलीमा रहेको चौधरी उद्योगले चाउचाउ, स्न्याक्स, रियो, वियर र चुरोट उत्पादन गर्दै आएको छ । कारखाना सञ्चालनकालागि चलाइने ब्वाइलर मेसिनमा धानको भुसबाट आगो लगाउने गरेका कारण धुलो उडेर आसापासमा बस्नै नसक्ने अवस्था भएकाले स्थानीय विरोधमा उत्रिएका हुन् ।


देवचुली नगरपालिकाले पटक पटक कारखाना सञ्चालन गर्दा न्यूनतम वातावरणीय असरलाई ख्याल गर्न कारखाना व्यवस्थापनलाई माग गर्दा समेत सुनुवाई नगरी कारखाना सञ्चालन गर्दै आएको जानकारी दियो ।

स्थानीयले प्रदूषण मुक्त नगरेसम्म कारखाना सञ्चालन हुन नदिने अडान लिएको वडा अध्यक्ष केसीले जानकारी दिए । स्थानीयले तालाबन्दी गरेको बारेमा जानकारी लिन खोज्दा कारखाना व्यवस्थापन सम्पर्कमा आउन चाहेन ।

प्रकाशित : कार्तिक २३, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?