मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सत्तामा रहिरन पाण्डेलाई ५५ मत आवश्यक थियो । उनको विपक्षमा ४३ मत खसेको थियो । प्रदेशसभामा १३ सांसद रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेलाई माओवादी केन्द्र २३, कांग्रेस २२ र जसपाका १ सांसदले मत प्रदान गरेका थिए ।

मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले मतदान गरेका थिए । मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएनन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बसेको थियो । नेमकिपासँग दुई सांसद छन् ।

प्रदेशसभामा एमालेको सभामुखसहित ४३ मत रहेपनि दुई सांसद अनुपस्थित भए । सभामुख सानुकुमार श्रेष्ठ मतविभाजन प्रक्रियामा भाग लिएनन् । प्रदेशसभाको बैठकमा १०४ सांसदको उपस्थिति रहेको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् ।

प्रकाशित : कार्तिक २२, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?