कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘मृत्युमार्ग’ बन्दै कर्णाली राजमार्ग

साँघुरो र अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्ताले बढी दुर्घटना

सुर्खेत, कालीकोट, मुगु, दैलेख — दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो । यसअघि २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दूधे बालकसहित १८ जनाले ज्यान गुमाएका थिए ।

‘मृत्युमार्ग’ बन्दै कर्णाली राजमार्ग

२०६६ चैतमा दैलेखको किटुमा गाडी दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको थियो । २०६८ मंसिरमा कालीकोटको सेराबाडा बित्तामोडमा २८ जनाले ज्यान गुमाएका थिए भने जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो ।

कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग खुलेयता भएका ठूला दुर्घटनाका मात्र विवरण हुन् यी । सानातिना दुर्घटनाको संख्या त सय हाराहारी पुग्छ । साँघुरो र अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐर बताउँछन् । ‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेको छ,’ उनले भने, ‘कर्णालीको भूगोल यसै कठिन छ । सडक पनि जीर्ण हुनाले दुर्घटना रोक्न चुनौती छ ।’

३० वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्गमा १६ वर्षअघि मात्र ट्र्याक खोलिएको हो । राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । तर सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न समस्या हुन्छ, अर्कोपट्टिबाट गाडी आए ब्याक गर्नुपर्छ,’ गाडी चालक मिलन क्षत्रीले भने, ‘सडकमै कुनै गाडी बिग्रिए अरू गाडीका समेत त्यतै बास बस्नुपर्छ ।’

जुम्ला, मुगु र कालीकोटका राजनीतिक दलहरूले चुनावमा कर्णार्ली राजमार्गलाई स्तरोन्नति गर्ने नारा बनाउने तर जितेपछि बेवास्ता गर्ने गरेको खाडाचक्र–८ का लालबहादुर मल्लले बताए । ‘नेताहरूले सधैं राजमार्ग पिच गर्ने नारा लगाउँछन्,’ उनले भने, ‘तर जितेर गएपछि वास्ता गर्दैनन् ।’ कर्णाली राजमार्ग गतिलो नहुँदासम्म कर्णालीको विकास अधुरो हुने उनको भनाइ छ । ‘पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ,’ उनले भने, ‘सधैं भगवान् भरोसामा यात्रा गर्नुपर्ने बाध्यता छ ।’

निर्माणाधीन हिल्सा–सिमकोट–खुलालु खण्ड ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि मात्र सकिएको थियो । चट्टानै चट्टानका कारण निर्माणमा समस्या भएपछि सरकारले नेपाली सेनालाई सडकको जिम्मा दिएको थियो । नेपाली सेनाले २०६३ चैत ३० गते ट्र्याक खोलेको सडकमा ५ वर्षअघि ओटासिल प्रविधिको कालोपत्र गरिएको थियो । तर ५ वर्षमै सडकको करिब ८० प्रतिशत कालोपत्र उप्किएको छ । सरकारले विश्व बैंकको सहयोगमा सुर्खेतबाट खिड्कीज्युलासम्म १ सय २६ र खिड्कीज्युलादेखि जुम्लासम्म १ सय ७ किलोमिटर सडकमा कालोपत्र गरेको थियो ।

सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको नागरिक अभियन्ता कमल विकले बताए । ‘सस्तो प्रविधिको पिच गरियो, त्यसमा पनि गुणस्तरीय काम भएन,’ उनले भने, ‘अहिले वर्षैभरि धूलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता छ ।’ सुर्खेतबाट जुम्लासम्म ठाउँठाउँमा झरिरहने पहिरोका कारण पनि यात्रु सास्ती भोग्न बाध्य भएको उनी बताउँछन् ।

दुई ठाउँमा पुल निर्माण गर्न बाँकी रहेको राजमार्गको जुम्लातर्फ ७ किमि सडकमा भने पहिले नै पिच गर्न छुटेको थियो । ‘पहिले बनेको कालोपत्र सडकले सुविधा त धेरै भयो,’ खाडाचक्र–३ ताडीका ७२ वर्षीय केशे पाण्डेले भने, ‘तर अहिले सडक पहिलेकै जस्तो कच्ची भइसकेको छ, जताततै खाल्डाखुल्डी मात्र छन् ।’ कर्णालीको प्रमुख पर्यटकीय स्थल रारा पुग्ने एक मात्र कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता हुँदा पर्यटक भित्र्याउन समस्या भएको मुगुको खत्याड–२ सेरीका नवराज मल्लले बताए । ‘हामी (कर्णालीवासी) लाई अरू विकास चाहिएको छैन,’ उनले भने, ‘यही बाटो (कर्णाली राजमार्ग) सडक दुई लेनको पक्की बनाइदिए पुग्थ्यो ।’ उनका अनुसार सडक जीर्ण र साँघुरो हुँदा सुर्खेतबाट मुगु पुग्न दुई दिन लाग्ने गरेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका पूर्वप्रमुख लीलाबहादुर भण्डारी कर्णाली राजमार्ग इन्जिनियरिङ मापदण्डअनुसार नै नभएको बताउँछन् । ‘सुरुवाती चरणमै राजमार्ग दुई लेनको हुनुपर्ने हो,’ उनले भने, ‘सेनाले हतारहतारमा काम गरेकाले पनि मापदण्ड नपुगेको हुन सक्छ, पछि जति प्रयास गर्दा पनि त्यो मापदण्ड पूरा गर्न सकिएन ।’

कर्णाली प्रदेशमा सडक दुर्घटनामा परी पछिल्लो ३ महिनामा ६१ जनाले ज्यान गुमाएका छन् । जीर्ण र कच्ची सडक, क्षमताभन्दा यात्रु राखिनु र पुराना गाडीका कारण कर्णालीका पहाडी जिल्लामा दुर्घटना बढ्दै गएको हो । कर्णाली प्रदेशमा ३ आर्थिक वर्षमा ३ सय ४६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । ‘कालोपत्र गरिएका सडक पनि एक वर्षमै भत्किन्छन्,’ प्रदेश प्रहरी प्रमुख डीआईजी ऐरले भने, ‘कच्ची सडकमा त गाडी नपल्टेको दिनै हुँदैन ।’

उनका अनुसार आव २०७६/७७ मा २ सय ३६ सवारी दुर्घटना हुँदा ८७ जनाको मृत्यु भएको थियो भने ४ सय ७२ जना घाइते भए । २०७७/७८ २ सय ९१ दुर्घटनामा ९८ जनाको मृत्यु भयो भने ४ सय ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्षका सुरुका ३ महिनामा ८७ दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ भने १ सय ८३ जना घाइते भएका छन् ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालीकोट खण्डका विभिन्न स्थानका साँघुरा मोडहरूले दुर्घटनाको जोखिम बढाएको इन्जिनियर कर्णबहादुर केसीले बताए । उनका अनुसार राजमार्गको एक मोडबाट अर्को मोडमा गाडी देख्न सकिँदैन । कर्णालीका धेरै सडकमा ट्राफिक संकेत नहुँदा पनि दुर्घटना बढिरहेको उनले जानकारी दिए ।

सडकको दुरवस्था र ओभरलोडकै कारण सबैतिर दुर्घटना बढिरहेको डीआईजी ऐर बताउँछन् । ‘कर्णालीमा चल्ने अधिकांश गाडी पुराना हुँदा पनि दुर्घटना रोक्न चुनौती थपिएको छ,’ उनले भने, ‘घाइतेले समयमै उपचार नपाउँदा पनि दुर्घटनामा मृतकको संख्या बढेको हो ।’

प्रकाशित : कार्तिक २२, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?