कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनगणनासँगै मातृ मृत्युदरसमेत आकलन गरिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनासँगै मातृ मृत्युदर पत्ता लगाउने भएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाका क्रममा पहिलो पटक मातृ मृत्युदरको आकलन गर्न थालिएको हो । जनगणनाको १२ औं शृंखला बिहीबार सुरु हुँदै छ ।

जनगणनासँगै मातृ मृत्युदरसमेत आकलन गरिँदै

निर्देशक लामिछानेले विभागको नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञको संलग्नतामा मातृ मृत्युदुर आकलन गरिने जानकारी दिए । जनगणनाको मुख्य प्रश्नावलीमा ‘गत १२ महिनामा तपाईंको परिवारमा कसैको मृत्यु भएको थियो ?’ भन्ने उल्लेख छ । त्यसमा मृत्यु भएको भए नाम, थर, लिंग, पूरा भएको उमेर, मृत्यु हुनुको मुख्य कारण खुलाइनेछ । त्यसैगरी मृतक १५ वर्षदेखि ४९ वर्षको महिला भए मृत्यु हुँदाको अवस्था कस्तो थियो भन्नेबारे स्पष्ट जानकारी लिइनेछ । यसले प्रजनन तथा प्रसूति जटिलताबारे स्पष्ट पार्ने ठानिएको छ ।

विभागको तालिकाअनुसार जनगणना अवधिभित्र गणकले मातृ मृत्यु भएका घरपरिवार पत्ता लगाई स्वास्थ्यकर्मीलाई सूचित गर्नेछन् । त्यही चरणबाट निरन्तर मंसिरभित्र ‘स्वास्थ्यकर्मीले भर्वल अटप्सी गर्ने’ (मृतकको परिवारसँग मौखिक सोधेर विवरण लिने) तालिका रहेको छ । आगामी पुसमा गर्भवर्ती, प्रसूति वा सुत्केरी अवस्थाबाहेक अन्य अवस्थामा मृत्यु भएका केसहरूको नमुना संकलन गरी ‘स्क्रिन’ गर्ने तालिका छ । २०६८ को तथ्यांकअनुसार प्रतिहजार कोरा मृत्युदर ७ दशमलव ३ छ । वर्षभरि प्रतिहजार जनसंख्यामा मर्ने व्यक्तिहरूको संख्यालाई कोरा मृत्युदर भनिन्छ । हाल पुरुषको औसत आयु ६५ दशमलव ५ र महिलाको आयु ६७ दशमलव ९ रहेको छ । त्यसैगरी शिशु मृत्युदर र बाल मृत्युदरमात्र खुलाइएको छ । अबको जनगणनाको परिणामसँगै मातृ मृत्युदरसमेत खुल्ने जनाइएको छ ।


प्रकाशित : कार्तिक २१, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?