बसको ठक्करले देउसी खेल्न हिँडेका दुईको मृत्यु, आठ जना घाइते

प्रताप विष्ट

हेटौंडा — बसको ठक्करबाट शनिबार राति देउसीभैलो खेल्न हिँडेका दुई युवकको मृत्यु भएको छ  । आठ जना घाइते भएका छन्  ।

बसको ठक्करले देउसी खेल्न हिँडेका दुईको मृत्यु, आठ जना घाइते

हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिक बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको हो । घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र तीन जनाको भरतपुरमा उपचार भइरहेको छ । बसले ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए ।

बसमा लागेको आगो निभाउन गएको दमकललाई समेत स्थानीयले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेत घाइते भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

आगजनीबाट बस जलेर पूर्णरूपमा नष्ट भएको छ । स्थानीयको तोडफोडबाट हेटौंडा उपमहानगरपालिकाको दमकलमा समेत क्षति पुगेको छ । ठक्कर दिने बस चालक फरार भएका छन् ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

प्रकाशित : कार्तिक २१, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?