बाढीपहिरो पीडित क्षेत्रको निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खाँण- समाचार - कान्तिपुर समाचार

बाढीपहिरो पीडित क्षेत्रको निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वका जिल्लाहरुमा पुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहानै धनकुटाको ६ नं. बुधबारे पुगेका खाँणले त्यहाँ बाढीपहिरोले पुर्‍याएको क्षतिको अवलोकनसँगै कांग्रेस नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् । त्यसपछि उनले पाँचथरको तुम्बेवा गाउँपालिकाको मौवा र मिक्लाजुङ्ग गाउँपालिकाको चिसापानी, पञ्‍चमी लगायत क्षेत्रमा पुग्ने कार्यक्रम छ ।

साताअघिको बेमौसमी वर्षाले पूर्वका पाँचथर, इलाम, धनकुटा लगायत जिल्लामा बाढीपहिरोका कारण जनधनको क्षति भएको थियो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सो क्षेत्रको अवलोकन गरेका थिए ।

प्रकाशित : कार्तिक १६, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्

मिचाहा झारको फैलावट भयावह

कालो वनमारा चितवन–अन्नपूर्ण परिधि क्षेत्रको १४६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिइसकेको छ, जुन उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको कुल क्षेत्रफलभन्दा डेढ गुणा बढी हो 
गोविन्द पोखरेल

काठमाडौँ — मान्छे र अरू जीवजन्तुले जे खान हुन्छ, ती वनस्पति हुर्काउनै गाह्रो छ । रोगकीराको आक्रमण हुन्छ, हावापानीको असर पर्छ । रोप पनि हुर्कन्छ, फल्छ भनेर ढुक्क पर्न सकिँदैन । केही वनस्पति यस्ता छन्, जो मान्छेले के काम लाग्छ भने भेउ पाएकै छैनन्, ती अरु वनस्पतिमाथि मिचाहा भएर फैलिइरहेका छन् 

पाँच दशकअघि बसाइँसराइको लहर चल्दा एउटा यस्तो वनस्पति नेपाल पस्यो, जो छिटो बढ्ने, अरूलाई ढाक्ने मात्रै होइन, अन्य वनस्पतिको वृद्धि रोक्न उद्यत रहेको ठहर भयो । यो वनस्पति हो – लहरे वनमारा ।

वनस्पतिविद्हरू सन् १९६३ देखि यो भारत हुँदै पूर्वी दक्षिण नाकाबाट नेपाल प्रवेश गरेको मान्छन् । पूर्वबाट चारकोसे झाडी, कोसीटप्पु हुँदै यो झार लुम्बिनीसम्म फैलिइसकेको छ । धादिङ र उत्तरी गोरखाका विभिन्न ठाउँहरूमा समेत लहरे वनमारा देखिन थालेको छ । ‘यो वनमारा नेपालको पश्चिम–उत्तरतिर फैलने क्रममा छ,’ त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका प्राध्यापक इमेरिटेस् डा.प्रमोदकुमार झाले भने ।

संसारको सयवटा खतरनाक मिचाहा प्रजातिको सूचीमा समावेश यो झारले रैथाने वनस्पतिहरूलाई असर गरेको प्रति अनुसन्धानकर्ताहरू चिन्तित छन् । सजिलैसँगै फैलने सक्ने, अन्य वनस्पतिहरूलाई उम्रन नदिएर भुइँ पूरै ढाक्ने यो झारको प्रजनन पनि छिटो हुने भएकाले तीव्र रूपमा फैलँदै गएको पाइएको छ ।

विभागले गण्डकी, वाग्मती र लुम्बिनीका १९ जिल्ला पर्ने चितवन–अन्नपूर्ण भूपरिधि क्षेत्रमा गरिरहेको अनुसन्धानले सन् १९९० देखि २०१८ सम्म लहरे वनमारा ८ सय ३१ प्रतिशतले बढेको देखाएको छ । लहरे वनमारा (माइकेनिया मिक्रान्था) का कारण चितवनमा गैंडालाई समेत असर गर्न थालेको अनुसन्धानहरूले देखाएका छन् । यो मिचाहा प्रजातिले दुर्लभ एक सिंगे गैंडाले खाने घाँसलाई ढाकिदिँदा उसको आहारा दुर्लभ भएको अनुसन्धानहरूले देखाएका छन् । सन् १९९० मा लहरे वनमारा २८ वर्ग किलोमिटर क्षेत्रफलमा मात्र भेटिएको थियो । सन् २००० मा त्यो बढेर ४२, २०१० मा ७३ र २०१८ मा २ सय ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । तीमध्ये चितवन, नवलपरासी र मकवानपुरमा बढी मात्रामा फैलिएको छ । ‘कालो वनमारा मध्य–पहाडी भागमा धेरै नै फैलिएको छ । सेतो वनमारा र त्यसपछि लहरे वनमारा फैलने क्रममा छन्,’ प्रा.डा. झाले भने ।

विभागले गरेको अनुसन्धानमा सेतो वनमारा २ सय ३४, कालो वनमारा ४ सय २५, जलकुम्भी ४ सय ५०, कनिके झार ३ सय ९ र वन फाडो १ सय ६८ प्रतिशतले बढेको देखाएको हो । वेशरम झार भने ७० प्रतिशतले घटेको पाइएको छ । रिमोट सेन्सिङ प्रणालीबाट प्राप्त तथ्यलाई फिल्डमा प्रमाणित गरेर यी प्रजातिको अवस्थाबारे अध्ययन गरिएको उनले जानकारी दिए ।

२० वर्षदेखि मिचाहा प्रजातिको अध्ययन गर्दै आएका विभागका सह–प्राध्यापक डा. भरतबाबु श्रेष्ठका अनुसार विगतमा मिचाहा प्रजातिमा सूचीकृत नभएका वनस्पतिहरू पनि पछिल्लो समय वनमारा जसरी नै फैलिरहेका छन् । १५ वर्ष अगाडि ‘नीलो गन्धे’ झारलाई मिचाहा प्रजातिमा नराखिए पनि अहिले यसको फैलावट मुलुकको मध्य–पहाडी, चुरे र चरण क्षेत्रमा हानिकारक प्रजातिका रूपमा आउन थालेको छ । त्यस्तै हरेक दुई वर्षमा मिचाहाको एउटा नयाँ प्रजाति नेपालमा देखिन थालेको अनुसन्धानकर्ताहरूको दाबी छ ।

पछिल्ला वर्षहरूमा पूर्वी तराईमा ‘उल्टा काँडा’ झार तीव्र रूपमा फैलिरहेको पाइएको छ । विश्वको ३४ खतरनाक मिचाहा वनस्पतिमा सूचीकृत ‘सिंगापुर डेइसी’ भनिने विडिलिया गत वर्ष काभ्रेमा भेटिएको थियो । यो प्रजाति पनि फैलने क्रममा रहेको उनले बताए ।

जलवायु परिवर्तनका कारणले मिचाहा प्रजातिको संख्या बढेको सहप्राध्यापक श्रेष्ठ बताउँछन् । सरकारी तथ्याकंअनुसार नेपालको वार्षिक तापक्रम वृद्धिदर ०.०५६ डिग्री सेल्सियस छ । ‘जलवायु परिर्वतनको कारण कतिपय प्रजातिहरूका लागि उपयुक्त बासस्थान बढिरहेको छ,’ उनले भने, ‘तराई र मध्यपहाडी र हिमाली क्षेत्रमा यस्ता वनस्पतिहरू सर्दै गएको देखिन्छ । लहरे वनमारा १४ सय मिटरको उचाइमा पुगिसक्यो । पूर्वी ताप्लेजुङमा भेटिएको छ ।’ कालो वनमारा ३ हजार मिटरमाथिसम्म भेटिएको उनले बताए ।

मिचाहा प्रजातिका कारण जडीबुटीजन्य वनस्पतिहरू पनि पातलिँदै गएको पाइएको छ । चितवन–अन्नपूर्ण क्षेत्रमा पार्थेनियम (कनिके झार) का कारण ६ वटा प्रजातिको उपस्थिति पातलिएको छ । कनिके झारकै कारण ‘अर्टेममेसिया’ भनिने तीतेपाती, सिरिसियम, ट्राइफोलियम रेपेन्स, हाइप्टिस सुवाभिओलेन्स, क्राइसो पोगान एक्युलेटस्, घोडताप्रेजस्ता रैथाने वनस्पति पातलिँदै गएको विभागकै अनुसन्धानले देखाएको छ ।

माउन्टेन रिसर्च एन्ड डेभलपमेन्ट जर्नलमा प्रकाशित अञ्जु शर्मा पौडेलको अनुसन्धानमूलक आलेखमा जलवायु परिवर्तनका कारण नयाँ–नयाँ क्षेत्रमा वनमारा प्रजातिहरू फैलँदै जाने प्रक्षेपण गरिएको छ । उनको अनुसन्धानले जलवायु परिवर्तनका अहिलेकै हिसाबले भइरहेको खण्डमा कालो वनमारा चितवन–अन्नपूर्ण क्षेत्रअन्तर्गत चितवनदेखि लामटाङसम्मको १२ हजार २ सय १५ वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलने सक्ने देखाएको छ । उनले भनिन्, ‘भूमण्डलीकरण, व्यापार र मानवीय गतिविधि बढेसँगै मिचाहा प्रजातिहरू पनि बढ्दै गएका छन् । यी मिचाहा वनस्पतिहरू ३१ देखि ४८ मिटरले थप उकालो लाग्ने प्रक्षेपण गरेका छौं ।’ सन् १९९० मा कालो वनमारा ३ सय ४८ वर्ग किलोमिटर ओगटेकोमा सन् २००० मा १ हजार २ सय ८१ वर्ग किलोमिटर र २०१८ मा १ हजार ४ सय ६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पनि उनको अनुसन्धानले देखाएको छ । जुन राजधानी उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको कुल क्षेत्रफलभन्दा डेढ गुणा बढी हो ।

त्यस्तै जर्नल अफ माउन्टेन साइन्समा प्रकाशित सिर्जना महर्जनको अनुसन्धानले जलवायु परिवर्तनको कारणले ‘ट्री लाइन’ मा परिवर्तन हुँदा मिचाहा प्रजातिको फैलावट छिटो हुने देखाएको छ । उनको अनुसन्धानले पार्थेनियम झार हाल चितवन–अन्नपूर्ण क्षेत्रको १ सय ४२ देखि २०३२ मिटरको उचाइसम्म फैलिएको देखाएको छ । जलवायु परिवर्तनको असर कायम रहने हो भने पार्थेनियम यस क्षेत्रको २० प्रतिशत भूभागमा फैलनेसक्ने देखाएको छ ।

नेपालमा २ सय १९ प्रजातिका वनस्पति र ६४ प्रजातिका जीवहरू बाह्र प्रवृत्तिका छन् । तीमध्ये २१ प्रजातिहरू मिचाहा रहेको आईयूसीएनले सन् २००२ देखि २००३ सम्म गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार मिचाहा प्रजातिका वनस्पति रैथाने प्रजातिमाथि अतिक्रमण गरेर आफू स्थापित हुन्छन् । मिचाहा प्रजाति भन्ने बित्तिकै यिनको वृद्धिदर पनि धेरै नै छिटो हुन्छ । यसले गर्दा रैथाने प्रजातिलाई चाहिने अनुकूल वातावरण प्रभावित बन्न पुग्छ ।

खाना, पौष्टिक तत्त्व, खनिज, पानी जस्ता महत्त्वपूर्ण तत्त्वहरू यिनीहरूले लिँदा रैथाने प्रजातिलाई अभाव हुन्छ । जसका कारण वनस्पतिका प्रजातिहरूबीच प्रतिस्पर्धा बढ्छ । यसले रैथाने प्रजातिको फैलावट कम हुने र पातलिने क्रम बढाएको छ । मिचाहा प्रजाति बढ्दै जाँदा रैथाने प्रजाति लुप्त हुने सम्भावना अनुसन्धानमा प्रतिवेदनहरूमा उल्लेख छ । मिचाहा प्रजातिका कारण वनस्पतिहरूको उत्पादन र वृद्धिदरमा समेत असर गर्छ । जस्तै, जमिनभरि लहरे वनमारा फैलिँदा अन्य वनस्पतिहरू उम्रन र बढ्न पाउँदैनन् । यसले सबै जमिन ढाकिदिँदा अन्य वनस्पतिको हुर्कन पाउँदैनन् । पानीमा जलकुम्भी फैलँदा जलीय पारिस्थितिकीय प्रणालीलाई असर गर्छ र माछालगायतका जीवहरूलाई अक्सिजनको कमी हुन्छ, जसका कारण मर्छन् ।

मिचाहा प्रजातिको नियन्त्रणको सबैभन्दा उपयुक्त विधि भनेको फैलन नदिने नै हो । प्रारम्भिक अवस्थामा देख्नबित्तिकै तिनलाई उखेलेर फ्याँकेको खण्डमा सुरुमै निर्मूल गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ । उनीहरूका अनुसार फैलावट क्षेत्र थाहा पाउनासाथ तत्काल उखाल्ने र फाल्नेजस्ता उपायहरू अपनाउन पनि सजिलो हुन्छ । मिचाहा प्रजातिको व्यवस्थापनमा सरकारले ध्यान दिएको पाइँदैन ।

कागजमा व्यवस्थापनको कुराहरू उल्लेख गरे पनि जैविक विविधताको संरक्षणमा नभएको अनुसन्धानकर्ता श्रेष्ठले बताए । ‘नेपाल सरकारले बुझाएका रिपोर्टमा मिचाहा प्रजातिको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ, कार्यान्वयनचाहिँ छैन,’ उनले भने, ‘नेपाल सरकारले ६ वर्षअघि मिचाहा प्रजातिको व्यवस्थापन रणनीति मस्यौदा तयार गरेको थियो । तर अहिले मन्त्रालय र विभागको कुन ठाउँमा छ थाहा छैन ।’

प्रकाशित : कार्तिक १६, २०७८ १३:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×