नेपालगन्ज विमानस्थलमा सीताको जहाजसँग बँदेल ठोक्किए

सुरज कुँवर, मधु शाही

काठमाडौं, बाँके — नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।

नेपालगन्ज विमानस्थलमा सीताको जहाजसँग बँदेल ठोक्किए

बँदेल ठोक्किएपछि चालकदलले तीव्र गतिमा गुडिरहेको जहाजको टेकअफ रिजेक्ट गरेका थिए ।

अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकहरुको टोली जहाज मर्मतका लागि पठाएको बताए ।

नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोकिने घटना भएका छन् ।

उक्त जहाजमा तीन जना चालक दलका सदस्य र १४ जना यात्रुसहित १७ जना थिए । टेकअफ रिजेक्ट गर्दा यात्रुलाई केही पनि नभएको सीता एयरले जनाएको छ ।

नेपालगन्ज विमानस्थलका अनुसार, बँदेल ठोक्किएपछि ‘डिजेवल–एयरक्राफ्ट’ लाई क्रेनले तानेर पार्किङ क्षेत्रमा ल्याइएको थियो ।

जहाजलाई पार्किङ क्षेत्रमा ल्याउँदा र धावनमार्ग सफाई गर्दा दुई घन्टा नेपालगन्ज विमानस्थल बन्द गरिएको थियो ।

तीनवटा डोर्नियर भएको सीताले पश्चिम नेपालको उडानका लागि एउटा विमान नेपालगन्ज विमानस्थलमा राख्दै आएको छ । सीता जस्तै तारा, समिट र नेपाल वायुसेवा गिगमले पनि कर्णाली र सुदूरपश्चिमका लागि नेपालगन्जलाई बेस बनाई एक–एक जहाज त्यही राखेर दुर्गम उडान गर्दै आएका छन् ।

सीतासँग नेपालगन्जमा जगेडा विमान नभएकाले उसले त्यो विमानबाट आजका लागि तय गरेका सबै उडान रद्द गरेको जनाएको छ ।

पटकपटक घाँस काट्दा समेत विमानस्थलमा बँदेल आउने समस्या छ । दुर्घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले विमानस्थलमा झाडी भएकाले व्यवस्थित हुन नसक्दा जंगली जनावर आउने खतरा बढेको बताए । ‘एयरपोर्ट घाँसैघाँसले भरिएको छ,’ उनले भने,‘बँदेल आएर खेल्ने रहेछन् ।एयरपोर्टमा सफा र व्यवस्थित नराख्दा यस्तो भएको हो ।

प्रकाशित : कार्तिक १६, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?