१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जलवायु सम्मेलनको उच्चस्तरीय सत्र आजबाट

प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
अब्दुल्लाह मियाँ

ग्लास्गो, स्कटल्याण्ड — जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप २६) को लिडर्स सम्मेलन (वर्ल्ड लिडर्स समिट) मा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।

जलवायु सम्मेलनको उच्चस्तरीय सत्र आजबाट

जलवायु सम्मेलनमा कार्यकारी प्रमुखका हैसियतमा १२ वर्षपछि प्रधानमन्त्रीबाट सम्बोधन हुन लागेको हो ।

प्रधानमन्त्री देउवाले पनि जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या, जलवायुजन्य हानी नोक्सानी, जलवायु अनुकूलन, विकसित मुलुकहरुको दायित्वलगायत विषयमा सम्वोधन गर्ने अधिकारीहरुले जनाएका छन् ।

यसअघि डेनमार्कको कोपनहेगनमा सन् २००९ मा भएको कोप १५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकारी प्रमुखको हैसियतमा सहभागी भएका थिए, त्यसपछि नेपालबाट कार्यकारी प्रमुखले भाग लिएका छैनन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रधानमन्त्री देउवासहित विश्वभरका सरकार प्रमुखहरुलाई कात्तिक १५ र १६ (१ र २ नोभेम्बर) मा हुने लिडर्स सम्मेलनमा भाग लिन निमन्त्रणा गरेका छन् । सम्मेलनमा करिब १२० देशका प्रमुखहरुले सम्बोधन गर्नेछन् । जलवायु सम्मेलनका अहिलेसम्मका २६ वटा संस्करणमा नेपालबाट कार्यकारी तहबाट सहभागीता न्युन छ । प्राय: जलवायुको फोकल वन तथा वातावरण मन्त्रालयका अधिकारीहरुले मात्र भाग लिने गरेका थिए । सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवासहित वन तथा वातावरणमन्त्री रामसयायप्रसाद यादबलगायत सरकारी अधिकारीको टोली आइतबार साँझ लण्डनबाट ग्लास्गो आइपुगेको छ ।

विश्वका शक्तिशाली नेताहरुसमेत सहभागी हुने यो सम्मेलनको पहिलो खण्डलाई “सरकार प्रमुखहरुको उच्चस्तरीय सत्र” भनिएको छ । कोप २६ लाई सन् २०१५ मा भएको पेरिस सम्झौतापछिको महत्वपूर्ण सम्मेलनको रुपमा हेरिएको छ । सम्मेलनले कार्बन बढी उत्सर्जन गर्ने बिशेष गरी जी–२० राष्ट्रहरुलाई २०३० सम्ममा कार्बन उत्सर्जन दु्रतगतिमा घटाउन दबाब दिनेछ ।

नेपालसहितका अति कम विकसित मुलुकहरु (एलडीसी) समूहले यो पटकको कोपमा जलवायुजन्य हानी नोक्सानी र विश्वको तापमान १.५ डीग्रीभन्दा बढ्न नदिने मुद्दालाई विशेष प्राथमिकता दिने साझा धारणा तय गरेका छन् ।

आइतबार सुरु भएको सम्मेलनको उद्घाटनका क्रममा कोप २६ का अध्यक्ष आलोक शर्माले १.५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम कठिन भएको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्ने बताएका छन् । उनले भने, “१.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि कोप २६ हाम्रो अन्तिम उत्कृष्ट आशा हो ।” पक्ष मुलुकहरुले कार्बन उत्सर्जन घटाउने थप महत्वकांक्षी लक्ष्यहरू तय गर्न भनिएको छ । शर्माले जलवायु असरको एउटा उदाहरण नेपालको मुस्ताङमा आफैंले देखेको बाढी र खडेरीबाट विस्थापित भएको कथा सुनाएका थिए । शर्माले गत चैतमा नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित : कार्तिक १५, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?