कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बझाङ पहिरोमा बेपत्ताको खोजी स्थगित

कान्तिपुर संवाददाता

बझाङ — पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरिएको छ । कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर बेपत्तामध्ये चार जनाको शव फेला परेको थियो । 

बझाङ पहिरोमा बेपत्ताको खोजी स्थगित

आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका चार शवमध्ये दुइवटाको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । १९ जना अझै बेपत्ता रहेको अवस्थामा पीडिुत परिवारलाई खबर नै नगरी टोली बुधबार टोली फर्किएको हो ।

‘खाना खाएर खोजीका लागि आउनुहुन्छ होला भन्ने ठानेर पर्खेका थियौं । दिउँसोतिर त उद्धार टोली नै फर्कियो भन्ने खबर आयो,’ परिवारका १८ जना सदस्य गुमाएका कलक सार्कीले भने, ‘हामीलाई केही पनि भन्नुभएको छैन । सद्गत गरौं भने शव फेला परेको छैन । मान्छे जिउँदै होलान् भन्ने आसा पनि छैन । के गर्ने कसो गर्ने केही सोच्नै सकेका छैनौं ।’ परिवारका सदस्यको शव भेटे अन्तिम संस्कार गर्न सजिलो हुने उनले बताए ।

पहिरो गएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो । पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको हो । सेना, सशस्त्र र नेपाल प्रहरी सम्मिलत टोली उद्धार कार्यमा संलग्न थियो ।

‘खोजी टोलीमा ४५ जना छन् भनिए पनि १०/१२ जना मात्रै खोजीमा जुटेका देखिन्थे,’ घटनास्थलमा पुगेर उद्धार कार्यमा सहयोग गरेका अनेरास्वियुका पूर्वअध्यक्ष ऐन महरले भने ‘त्यत्रो ठूलो पहिरोमा हराएकाहरूलाई खोज्न उद्धारकर्मीको संख्या नै कम भयो । प्रविधि र उपकरण पनि भने जति परिचालन नहुँदा खोजी सफल हुन सकेन ।’ वेपत्ताको खोजीलाई सरकारले गम्भीरतापूर्वक नलिएको देखिएको उनले बताए ।

डीएसपी रूपक खडकाले खोजीमा प्रविधि अभाव र धेरै दिन बितेकाले स्थगन गरिएको बताए । वेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेकाले खोजी बन्द भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । ‘अब भेटिने सम्भावना नदेखेरै टोली फिर्ता भएको हो,’ उनले भने, ‘प्रक्रिया पुर्‍याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी गरेका छौं ।’

प्रकाशित : कार्तिक ११, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?