१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश १ मा कांग्रेस-एमाले सहकार्यको सम्भावना

आधा कार्यकाल नपाए सत्तारूढ गठबन्धनबाट बाहिर निक्लेर एकल सरकार बनाउने कांग्रेसको तयारी
देवनाराण साह

मोरङ — प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए कांग्रेसले अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको छ । यसका लागि सत्तारूढ दलसँगको गठबन्धनबाट बाहिर निक्लेर प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्नसमेत कांग्रेस तयार देखिएको छ ।

प्रदेश १ मा कांग्रेस-एमाले सहकार्यको सम्भावना

एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले यसको संकेत दिएका छन् । ओलीले शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा ‘प्रदेश १ मा जे पनि हुन सक्ने’ बताएका थिए । उनले भनेका थिए, ‘अहिले राजनीतिमा केही यकिन भइहाल्दैन किनकि सर्फेसमा जे देख्या हुन्छ त्यही मात्रै हुँदैन कहिलेकाहीं । प्रदेशसभाको बैठक कात्तिक १५ गतेसम्म किन स्थगित भएको हो ? त्यसबाट पनि बुझ्नुपर्छ, त्यसैले जे पनि हुन सक्छ ।’ ओलीको भनाइको आधारमा पनि कांग्रेसले आधा कार्यकाल नपाए एमालेको समर्थनमा एकल सरकार गठन गर्ने सम्भावना देखिन्छ ।

सत्तारूढ गठबन्धनले वाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने सहमति गर्ने तर कांग्रेसको राजनीतिक राजधानी तथा आधार क्षेत्र प्रदेश १ मा सिंगो कार्यकाल एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय मान्य नहुने प्रदेश सांसदहरूले बताएका छन् । प्रदेश १ मा शेखर कोइरालानिकट राजीव कोइराला मुख्यमन्त्री बन्ने भएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीलाई प्रदेश सरकारको पूर्ण नेतृत्व दिने सहमति गठबन्धनमा गरेको प्रदेश सांसदहरूको आरोप छ ।

प्रदेश १ मा कांग्रेस नेता कोइराला मुख्यमन्त्री बने पार्टीको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाको प्रभाव बढ्ने भएकाले देउवाले पूर्ण कार्यकाल एकीकृत समाजवादीलाई दिने सहमति गरेको सांसदहरूको बुझाइ छ । देउवाले विभेद गरे सत्तारूढ गठबन्धनको निर्णयलाई चुनौती दिँदै एमालेको समर्थनमा एकल सरकार निर्माण गर्ने प्रमुख प्रतिपक्षी कांग्रेसले तयारी गरेको छ ।

कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले अहिले गठबन्धनलाई जोगाएर अघि बढ्ने रणनीति भएको तर अन्य दलको समर्थनमा कांग्रेसको एकल सरकार निर्माण हुने अवस्था बने त्यसलाई स्विकार्ने बताए । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अहिलेको गठबन्धन र प्रदेशमा पार्टीको राजनीतिसमेत जोगाउँदै अघि बढ्ने तत्कालको रणनीति भएको बताए । ‘प्रदेश १ सरकारको नेतृत्वमा कांग्रेसले न्यूनतम आधा कार्यकाल पाउनुपर्ने मागसहित अहिले पार्टीभित्र संघर्ष गरिरहेका छौं,’ उनले भने, ‘राजनीति सम्भावनाको खेल भए पनि तत्काल गठबन्धनलाई जोगाएरै अघि बढ्ने तयारी छ ।’

कांग्रेसको राजनीतिक अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगनका लागि निवदेन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२:३० बजेसम्मका लागि सदन स्थगित गरेका हुन् ।

मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंगियाउने कार्यसूची छ । तर विश्वासको मत नपाउने अवस्था देखिए राजीनामा दिएर मार्गप्रशस्त गर्ने एमालेका एक सांसदले बताए । आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् । एमाले सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छिन् ।

प्रकाशित : कार्तिक ११, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?