फोनिज महाधिवेशन माघ ७-८ मा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं महाधिवेशन आगामी माघ ७-८ सम्म हुने भएको छ । 

नुवाकोटको ककनीमा बुधबार बसेको संघीय समिति बैठकले महाधिवेशनको कार्यतालिका तय गरेको हो । तर महाधिवेशन हुने स्थान टुंगो लगाउने जिम्मा भने सचिवालयलाई दिएको पत्रकार सन्चु ब्लोनले जानकारी दिइन् ।

फोनिज महाधिवेशन माघ ७-८ मा हुने

पुस २४ गते प्रदेश अधिवेशन, मंसिर २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय पनि भएको पत्रकार ब्लोनले जनाइन् । उनका अनुसार मंसिर १५ गतेसम्म सदस्यता वितरण तथा नवीकरण गरिसक्ने निर्णय गरिएको छ ।

अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको बैठक प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले उद्घाटन गरेका थिए । बैठकमा देशभरिबाट फोनिज आबद्ध संघीय समिति सदस्यहरु सहभागी थिए ।

महाधिवेशनमा नेपालका ५४ जिल्ला शाखा र छवटा प्रवास शाखा तथा जातीय संघ संस्थाका प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश र जिल्ला शाखाका पदाधिकारीको सहभागिता रहने संघिय अध्यक्ष डण्ड गुरुङले बतउ । फोनिजको जापान, मलेशिया, अमेरिका, दक्षिणकोरिया, दुबई र बेलायतमा शाखा विस्तार गरिएको छ ।

फोनिजमा गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारु पत्रकार सङ्गठन आबद्ध रहेका छन् । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित प्रदेश समितिलाई अधिकार दिने निर्णय गरिएको छ । नुवाकोटको ककनीस्थित नेपाल स्काउट अन्तर्राष्ट्रिय सभाहलमा बसेको बैठकको निर्णय सबै शाखालाई सर्कुलरका रूपमा पठाइने फोनिज संघीय समितिका संगठन सचिव मिलन लिम्बूले जानकारी दिए । बैठकले देशको समसामयिक विषयमा फोनिजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई कडाइका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?