प्रहरी बढुवा गर्न थप पद सिर्जना गर्दैछौं : गृहमन्त्री खाँण- समाचार - कान्तिपुर समाचार

प्रहरी बढुवा गर्न थप पद सिर्जना गर्दैछौं : गृहमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको बताएका छन् । उनले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र केही सुधारका काम गर्न लागेको दाबी गरे ।

बुधबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पियनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले नेपाल प्रहरीको संगठनभित्र सुधारको काम गर्न लागेको बताए ।

नियमावली संशोधन गरेर भएपनि प्रहरी जवानहरू उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उनले बताए । प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उनले उल्लेख गरे ।

मन्त्री खाँणले नेपाली कांग्रेसले सधैंभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताए । उनले भने, ‘नेपाली कांग्रेसले खेलाडीहरुलाई सदैव सम्मान गर्छ । आउने दिनमा प्रयत्न के रहन्छ भने स्थानीय निर्वाचनमा, प्रदेश निर्वाचनमा र प्रतिनिधिसभाको निर्वाचनमा पनि खेलाडीहरुमध्ये सर्वोत्कृष्ट खेलाडीलाई हामीले उम्मेदवार बनाउन सकियोस् भन्ने हाम्रो प्रयत्न छ ।’

उनले आगामी वर्षको प्रतियोगितामा विजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सम्मान गर्ने पनि बताए ।

प्रकाशित : कार्तिक १०, २०७८ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्

मौलिक संस्कृतिको जगेर्ना गरी भावी पुस्तालाई हस्तान्तरण गर्न उपराष्ट्रपतिको आग्रह

रासस

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथिको अतिक्रमण रोकेर मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्दै भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्, नेपालद्वारा संयुक्तरूपमा आयोजित परिषद्को १०औं सम्मेलन एवं ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को बुधबार उद्घाटन गर्दै उनले भने, 'भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ–हाम्रो मौलिक भाषा, कला, संस्कार र संस्कृति जोगाऔं । प्रवर्द्धन गरौँ र भावी पुस्तालाई हस्तान्तरण गरौं ।'

उपराष्ट्रपति पुनले प्रज्ञा–प्रतिष्ठान, लोकवार्ता विभागबाट प्रकाशित ‘गोर्खाली युद्धबन्दीका लोकभाका र कथा’, ‘नेपाली लोकरामायणका विविध रूप’, ‘नेपाली लोककविताको काव्यशास्त्रीय विश्लेषण’, ‘लोकवार्ता सिद्धान्तका आधारमा घरगीत’ र परिषद्द्वारा प्रकाशित ‘नेपाली लोकवर्ता’को भाग ७, ८ र ९ को विमोचन गरेका थिए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा भौगोलिक, भाषिक तथा सांस्कृतिकलगायत अनेक विविधता रहेको उल्लेख गर्दै तिनलाई सहीरूपमा चिन्न सके मात्र नेपाललाई चिन्न सकिने विचार व्यक्त गरे । विभागका प्रमुख प्राज्ञ डा देवी नेपालले नेपाली लोकवार्ताको उन्नयनका निम्ति भएका प्रगतिबारे जानकारी गराए ।

लोकवार्ता परिषद्, नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रा प्रेम खत्रीले नेपाली लोकवार्तासँग सम्बन्धित क्षेत्रको अध्ययन, अनुसन्धान, संरक्षण तथा सम्वर्धनका लागि परिषद्ले गरिरहेका कामका बारेमा बताए ।

कार्यक्रममा परिषद्बाट उपराष्ट्रपति पुनलाई सम्मान गरिएको थियो । परिषद्ले समाजसेवी तथा लोकवार्ता अभियन्ता बमकुमारी बुढामगर र डा राज्यश्री श्रेष्ठलाई उपराष्ट्रपति पुनले बुढामगर र श्रेष्ठलाई सम्मानपत्र अर्पण गरेका थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ २०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×