मौलिक संस्कृतिको जगेर्ना गरी भावी पुस्तालाई हस्तान्तरण गर्न उपराष्ट्रपतिको आग्रह

रासस

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथिको अतिक्रमण रोकेर मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्दै भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

मौलिक संस्कृतिको जगेर्ना गरी भावी पुस्तालाई हस्तान्तरण गर्न उपराष्ट्रपतिको आग्रह

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्, नेपालद्वारा संयुक्तरूपमा आयोजित परिषद्को १०औं सम्मेलन एवं ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को बुधबार उद्घाटन गर्दै उनले भने, 'भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ–हाम्रो मौलिक भाषा, कला, संस्कार र संस्कृति जोगाऔं । प्रवर्द्धन गरौँ र भावी पुस्तालाई हस्तान्तरण गरौं ।'

उपराष्ट्रपति पुनले प्रज्ञा–प्रतिष्ठान, लोकवार्ता विभागबाट प्रकाशित ‘गोर्खाली युद्धबन्दीका लोकभाका र कथा’, ‘नेपाली लोकरामायणका विविध रूप’, ‘नेपाली लोककविताको काव्यशास्त्रीय विश्लेषण’, ‘लोकवार्ता सिद्धान्तका आधारमा घरगीत’ र परिषद्द्वारा प्रकाशित ‘नेपाली लोकवर्ता’को भाग ७, ८ र ९ को विमोचन गरेका थिए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा भौगोलिक, भाषिक तथा सांस्कृतिकलगायत अनेक विविधता रहेको उल्लेख गर्दै तिनलाई सहीरूपमा चिन्न सके मात्र नेपाललाई चिन्न सकिने विचार व्यक्त गरे । विभागका प्रमुख प्राज्ञ डा देवी नेपालले नेपाली लोकवार्ताको उन्नयनका निम्ति भएका प्रगतिबारे जानकारी गराए ।

लोकवार्ता परिषद्, नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रा प्रेम खत्रीले नेपाली लोकवार्तासँग सम्बन्धित क्षेत्रको अध्ययन, अनुसन्धान, संरक्षण तथा सम्वर्धनका लागि परिषद्ले गरिरहेका कामका बारेमा बताए ।

कार्यक्रममा परिषद्बाट उपराष्ट्रपति पुनलाई सम्मान गरिएको थियो । परिषद्ले समाजसेवी तथा लोकवार्ता अभियन्ता बमकुमारी बुढामगर र डा राज्यश्री श्रेष्ठलाई उपराष्ट्रपति पुनले बुढामगर र श्रेष्ठलाई सम्मानपत्र अर्पण गरेका थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?