कांग्रेस निर्वाचन समिति छलफल : २७ कात्तिकमा बाँकी वडा अधिवेशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस निर्वाचन समिति छलफल : २७ कात्तिकमा बाँकी वडा अधिवेशन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका बनाउने विषयमा छलफल थालेको छ । समितिको बुधबारको बैठकले प्रस्तावित कार्यतालिका तयार गरेको छ । त्यसलाई बिहीबार पुनः बैठक बसेर अन्तिम रुप दिने तयारी रहेको समितिका एक सदस्यले बताए ।

‘हामीले सभापतिज्यूको निर्देशनबमोजिम कार्यतालिका तोकेर महाधिवेशनको प्रक्रियालाई अघि बढाउने गरी तयारी गर्‍यौँ । प्रस्तावित कार्यतालिका तयार भइसक्यो । बिहीबार त्यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्छौ,’ ती सदस्यले भने ।

निर्वाचन समितिले २७ कात्तिकमा बाँकी रहेका वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । ‘कात्तिक मसान्तदेखि सुरु गर्ने र मंसिर मसान्तमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका आउँछ, मंसिरभित्रै केन्द्रीय महाधिवेशन नसकिए पनि मंसिर मसान्तमा सुरु हुन्छ,’ ती सदस्यले भने ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो ।

कांग्रेसले १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन गरिसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्मको अधिवेशन भइसकेको छ । बाँकीमध्ये १३ जिल्लामा वडा अधिवेशन भएको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यताको टुंगो लागेको छैन । निर्वाचन समितिका ती सदस्यका अनुसार २७ कात्तिकमा ती १३ जिल्लामा वडा अधिवेशन हुनेछ । त्यसपछि त्यहीअनुसारको कार्यतालिका बिहीबार साँझ निर्वाचन समितिले सार्वजनिक गर्नेछ ।

कांग्रेसले यसअघि मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएर १८ भदौदेखि अधिवेशनको प्रक्रिया थालेको थियो । तर, क्रियाशील सदस्यताको टुंगो लगाउन नसकेपछि अधिवेशन रोकिएको हो ।

प्रकाशित : कार्तिक १०, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्

तीन बुँदे सहमतिपछि नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित 

रुपा गहतराज

नेपालगन्ज — तीन बुँदे सहमतिपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा १० दिनदेखिको जारी आन्दोलन स्थगित भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाईंको अध्यक्षतामा बुधबार अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीचको वार्तापछि जारी आन्दोलन स्थगित भएको आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले  बताए ।

अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टीकरण खारेज गर्ने लगायतका सहमति भएको बताइएको छ । अस्पताल व्यवस्थापन पक्षले भने आर्थिक भार थपिने कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आएको छ । मध्यस्थता समितिले कर्मचारीका माग र अस्पताल प्रशासनले भन्दै आएको विषयलाई यथार्थ अध्ययन गर्ने जनाएको छ ।

शिक्षण अस्पतालका झन्डै १२ सय कर्मचारी सात बुँदे माग राखेर कात्तिक १ गतेदेखि आन्दोलन गरिरहेका थिए । उनीहरुले इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारेका थिए ।

उनीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि हुनुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित : कार्तिक १०, २०७८ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×