वाग्मती प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री दाबी गर्न आह्वान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री दाबी गर्न आह्वान

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेक हुन् ।

शर्माले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि कात्तिक ११ गते बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेको प्रवक्ता कृष्ण आचार्यले जानकारी दिए ।

वाग्मतीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी र जसपाले आन्तरिक तयारी गरिसकेका छन् । उनीहरु बुधबार साँझ नै केही बेरमा दावी पेश गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जानेछन् ।


प्रकाशित : कार्तिक १०, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्

पाण्डे नेतृत्वमा वाग्मतीमा नयाँ सरकार बन्दै

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे नेतृत्वमा सरकार निर्माण गर्न सहमति गरेको छ । 

गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले नेकपा (एस) का संसदीय दलका नेता पाण्डेको नेतृत्वमा सरकार जाने निर्णय गरेको हो । ‘नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेसँगै बहुमत सदस्यको हस्ताक्षर लिएर हामी प्रदेश प्रमुखकोमा जानेछौं । हामीले त्यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छौं ।’, कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार गठबन्धनमा रहेका ५९ जनाले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई चयन गर्न हस्ताक्षर गरिसकेका छन् ।

प्रदेशसभामा एमालेका ४३, प्रमुख प्रतिपक्षी माओवादी २३ र कांग्रेस २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जसपा का एक गरी १०९ सदस्य छन् । प्रदेशसभामा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ ।

गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ । ‘मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रपरिषद् गठन गर्छौं । तिहारलगत्तै हामी विश्वासको मत लिन्छौं र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं’, पाण्डेले भने । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् ।

आगामी मुख्यमन्त्री पाण्डेले गठबन्धनले आवश्यकताका आधारमा मन्त्रालयको संख्या थपिने बताए । ‘हामी गठबन्धनमा छौं । आवश्यकताका आधारमा मन्त्रालय बढ्न सक्छ । हामी त्यसका लागि तयारी गर्नेछौं ।’, उनका अनुसार दलहरुबीच मन्त्रालयको बाँडफाँड भइसकेको छैन ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । शाक्य अल्पमतमा परेसँगै वाग्मतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु भएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।


प्रकाशित : कार्तिक १०, २०७८ १६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×