१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

पाण्डे नेतृत्वमा वाग्मतीमा नयाँ सरकार बन्दै

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे नेतृत्वमा सरकार निर्माण गर्न सहमति गरेको छ । 

पाण्डे नेतृत्वमा वाग्मतीमा नयाँ सरकार बन्दै

गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले नेकपा (एस) का संसदीय दलका नेता पाण्डेको नेतृत्वमा सरकार जाने निर्णय गरेको हो । ‘नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेसँगै बहुमत सदस्यको हस्ताक्षर लिएर हामी प्रदेश प्रमुखकोमा जानेछौं । हामीले त्यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छौं ।’, कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार गठबन्धनमा रहेका ५९ जनाले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई चयन गर्न हस्ताक्षर गरिसकेका छन् ।

प्रदेशसभामा एमालेका ४३, प्रमुख प्रतिपक्षी माओवादी २३ र कांग्रेस २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जसपा का एक गरी १०९ सदस्य छन् । प्रदेशसभामा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ ।

गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ । ‘मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रपरिषद् गठन गर्छौं । तिहारलगत्तै हामी विश्वासको मत लिन्छौं र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं’, पाण्डेले भने । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् ।

आगामी मुख्यमन्त्री पाण्डेले गठबन्धनले आवश्यकताका आधारमा मन्त्रालयको संख्या थपिने बताए । ‘हामी गठबन्धनमा छौं । आवश्यकताका आधारमा मन्त्रालय बढ्न सक्छ । हामी त्यसका लागि तयारी गर्नेछौं ।’, उनका अनुसार दलहरुबीच मन्त्रालयको बाँडफाँड भइसकेको छैन ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । शाक्य अल्पमतमा परेसँगै वाग्मतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु भएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।


प्रकाशित : कार्तिक १०, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?