२४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा- समाचार - कान्तिपुर समाचार

२४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा

सन्जु पौडेल

लुम्बिनी — रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी उनले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

उनका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

१८ अंकले बढ्यो सेयर परिसूचक

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से १८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७६९ मा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । आज कुल ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो । हिजो ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

यस दिन कुल १११ कम्पनीको मूल्य बढ्दा ६९ कम्पनीको मूल्य भने घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन बैंकिङ १३, फाइनान्स ९, जीवन बीमा ३१७, माइक्रोफाइनान्स ५८, निर्जीवन बीमा १७८, अन्य २२ र ब्यापार उपसमूह २३ अंकले बढे ।

विकास बैंक १, होटल तथा पर्यटन १०, जलविद्युत २० र उत्पादन उपसमूह ४४ अंकले घटे । बेस्ट फाइनान्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढ्यो भने एभरेष्ट बैंक कन्भर्टिबल प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो । कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको ४३ करोड रुपैयाँको सेयर किनबेच भयो ।


प्रकाशित : कार्तिक १०, २०७८ १५:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×