कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रधानन्यायाधीश जबराको इजलास बस्यो, अन्य न्यायाधीशको बसेन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार ५ वटा मुद्दा हेरेका छन् । बुधबार प्रधानन्यायाधीश जबराले आफूसहित ११ वटा इजलास तोकेका थिए ।

प्रधानन्यायाधीश जबराको इजलास बस्यो, अन्य न्यायाधीशको बसेन

प्रधानन्यायाधीश जबराले लुम्बिनीका पूर्वसांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्णबहादुर घर्तीविरुद्ध अदालतको अवहेलना मुद्दासहित ५ वटा मुद्दाको सुनुवाइ गरेका छन् । जबराले उक्त मुद्दा तामेलीमा राखेका छन् । बुधबार अरु न्यायाधीश भने इजलासमा नबस्ने भएका छन् । यसअघि सोमबार र मंगलबार पनि न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै इजलासमा बसेका थिएनन् ।

प्रधानन्यायाधीश जबराका गतिविधिप्रति आपत्ति जनाउँदै १४न्यायाधीशहरूले यसअघि फुलकोर्टमा नजाने निर्णय गरे पनि बुधबार भने शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बस्ने भएको छ । पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएकाले त्यससम्बन्धी शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्न लागेको हो ।

बुधबार जबराले आफ्नै नेतृत्वमा संवैधानिक इजलास पनि तोकेका थिए । जसमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । संवैधाानिक इजलासमा एउटा मात्रै मुद्दा पेसीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन संवैधानिक इजलासको पेसीमा छ ।

मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भनिरहेका छन् । तर प्रधानन्यायाधीश भने आफूले राजीनामा नदिने अडान लिँदै आएका छन् ।

सर्वोच्चका २० मध्ये १८ न्यायाधीश सशरीर तथा इमेल सन्देशमार्फत प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् ।

प्रकाशित : कार्तिक १०, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?