बिनासमन्वय ‘शरणार्थी’ कागजात नबनाउन यूएनएचसीआरलाई ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले गैरकानुनी रूपमा प्रवेश गरेका विदेशी नागरिकलाई अस्थायी बसोबासका लागि समन्वय नगरी कागजात बनाइदिएकामा सरकारले आपत्ति जनाएको छ ।

बिनासमन्वय ‘शरणार्थी’ कागजात नबनाउन यूएनएचसीआरलाई ध्यानाकर्षण

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहयुद्ध र आन्तरिक द्वन्द्वमा फसेका देशबाट अन्तर्राष्ट्रिय सीमाबाट नेपाल प्रवेश गरेका व्यक्तिका लागि सरकारलाई पत्तै नदिई पत्र बनाउने गरेकाले यूएनएचसीआरको नेपालस्थित कार्यालयसँग प्रश्न उठाइएको बताए । ‘यस्ता विषयमा यूएनएचसीआरले कामकारबाही अघि बढाउनुअघि नेपाल सरकार गृह मन्त्रालयलाई पूर्वसूचना दिनुपर्छ, नत्र त्यस्ता कुनै पनि कागजात र निर्णयमा हाम्रो सहमति हुँदैन भनेका छौं,’ उनले कान्तिपुरसँग भने ।

विद्रोही समूह तालिबान सत्तामा आएपछि अफगान नागरिक भारतको बाटो भएर एक महिनायता सुनौलीबाट बेलहिया (भैरहवा) नाका हुँदै समूहगत रूपमा काठमाडौं आइपुगेका छन् । त्यस्तै झापाको काँकडभिट्टा र मोरङको रानी नाका हुँदै बर्मेली रोहिंग्या ‘शरणार्थी’ भित्रिने क्रम अझै रोकिएको छैन ।

अन्तर्राष्ट्रिय सीमाबाट गैरकानुनी रूपमा भित्रिएका दुवै देशका ‘शरणार्थी’ काठमाडौं आएर यूएनएचसीआरको कार्यालयमा पुग्ने गरेका छन् । उनीहरूलाई नेपाल सरकारसँग समन्वय नगरी यूएनएचसीआरले ‘अस्थायी बसोबास’ सम्बन्धी कागजात बनाउने गरेको विषयमा गृह मन्त्रालयले मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागका अधिकारी सम्मिलित बैठक डाकेको थियो । त्यसपछि गृहले यूएनएचसीआरका नेपाल प्रमुख क्यारोलिन स्पानुथ बर्मासँग ‘भर्चुअल’ छलफल गरेको थियो । बर्माले आगामी दिनमा नेपाल सरकारसँग कुराकानी गरेरमात्रै अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।

पछिल्लो पटक असोज दोस्रो र तेस्रो साता रूपन्देहीको बेलहिया नाकाबाट नेपाल भित्रिएका ६ र कात्तिक ३ मा भित्रिएका ५ अफगान नागरिकलाई गृह मन्त्रालयसँग समन्वय नगरी यूएनएचसीआरले ‘पोस्ट रिसेप्सन अपोइन्टमेन्ट स्लिप’ बनाएर काठमाडौंका विभिन्न स्थानमा ‘सेल्टर’ दिने गरेको खुलेको छ । अस्थायी बसोबासको पत्र बनाउन उनीहरूलाई मंसिर २ गतेका लागि समय तोकिएको थियो । त्यसको सूचना पाएलगत्तै प्रहरीले सोमबार बिहान सिनामंगलको एक होटलबाट पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो । अहिले उनीहरू विभागको हिरासतमा छन् ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको कश्मीर ठेगाना उल्लेख गरिएको ‘आधार कार्ड’ छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार बरामद आधार कार्ड नेपाल प्रवेश गर्न बनाइएको नक्कली परिचयपत्र भएको हुन सक्ने बताए । त्यसअघि भारतको बाटो हुँदै काँकडभिट्टाबाट गैरकानुनी रूपमा भित्रिएका रोहिंग्यालाई पनि यूएनएचसीआरले यस्तै पत्र बनाएर सेल्टर दिएको थियो ।

अफगान नागरिकहरू पक्राउ परेपछि सोमबार नै गृहले सुरक्षा निकाय, अध्यागमन विभाग र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सीमामा सुरक्षा जाँच कडाइ पार्न र विदेशी नागरिक लुकीछिपी बसेको हुन सक्ने भएर मातहत क्षेत्रभित्र सूक्ष्म निगरानी बढाउन आन्तरिक परिपत्र गरेको थियो । गृहले कोठाभाडामा दिँदासमेत अनिवार्य रूपमा परिचयपत्र हेर्न र बिनापरिचयपत्र कसैलाई काममा नलगाउन आग्रह गरेको थियो ।

प्रकाशित : कार्तिक १०, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?