कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी मृत्यु प्रकरण : बयान लिँदै सरकारी टोली

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके परस्पुरकी निर्मला कुर्मी बेपत्ता र नवाजी गाउँकी नन्कुन्नी धोबीको मृत्युबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन समितिले बयान लिन थालेको छ ।

करोडौंको जग्गा हडप्न निर्मलालाई १२ वर्षदेखि ‘बेपत्ता पारिएको’ र घरेलु हिंसाकी सिकार भएकी नन्कुन्नीको मृत्यु नभई हत्या भएको आरोप छ । समितिका पदाधिकारीहरूले सुरक्षा अधिकारी र घटनासँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिइरहेका छन् ।

निर्मला र नन्कुन्नीको गाउँमै पुगेर स्थानीयहरूसँग बयान लिइरहेको छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीले बताए । ‘दुई महिलाका बारेमा प्रहरीमा दर्ता भएको मुद्दा हेर्ने सुरक्षाकर्मीसँग पनि बयान लिइरहेका छौं । सुरक्षा अधिकारीहरूसँग पनि छलफल भइरहेको छ,’ उनले भने । समितिका सदस्यहरु अनुसन्धानका लागि ५ दिनअघि नेपालगन्ज आएको हो ।

निर्मला बेपत्ता घटना गम्भीर रहेको भन्दै समितिले छानबिन गर्न सीआईबीलाई सिफारिस गर्न सक्ने बताइएको छ । छानबिन समिति सदस्य मोहम्मद शेर बागवानले तत्कालीन सुरक्षा अधिकारी, जग्गा पास गर्ने मालपोत कर्मचारीलगायतको मिलेमतो हुन सक्ने भन्दै सीआईबीलाई छानबिनका लागि सिफारिस गर्ने बताए । ‘घटना निकै संवेदनशील छ । त्यसैले सीआईबीलाई घटनाको छानबिन गर्न दिनुपर्छ,’ उनले भने, ‘समितिले बिहीबार सरकारलाई प्रतिवेदन बुझाउनेछ ।’

नेपालगन्ज–१७ परस्पुरमा रहेको ४ बिघाभन्दा बढी जग्गा हडप्न १२ वर्षअघि निर्मलाको हत्या भएको दाबी अधिकारकर्मीको छ । उनका श्रीमान्को मृत्यु भएपछि २ छोराको पनि मृत्यु भएको थियो । त्यसलगत्तै तत्कालीन सांसद बादशाह कुर्मी, जग्गा कारोबारी रमेश थापालगायत ८ जनाले उक्त जग्गा हडप्न निर्मलालाई अपहरण गरेको जाहेरी प्रहरीमा दर्ता छ । तर प्रहरीले भरपर्दो अनुसन्धान नगरेको भन्दै अधिकारकर्मीहरू आन्दोलनमा उत्रिएका थिए ।

गत साउनमा नवाजी गाउँस्थित आफ्नै घरमा मृत भेटिएकी नन्कुन्नी र निर्मलाको न्यायका लागि अधिकारकर्मी रुबी खानको नेतृत्वमा संघर्ष सुरु भएको थियो । तर सुनुवाइ नभएपछि नेपालगन्जबाट २० दिन पैदल हिँडेर उनीहरू काठमाडौं पुगी माइतीघरमा दैनिक धर्ना दिएका थिए । चर्को दबाबपछि सरकारले छानबिन समिति गठन गरेको हो ।

प्रकाशित : कार्तिक १०, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?