१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वाग्मतीमा मतविभाजन आज

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मतविभाजन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

वाग्मतीमा मतविभाजन आज

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् ।

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ । नेपाल मजदुर किसान पार्टी र राप्रपाले कुनै प्रतिक्रिया दिएका छैनन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

आफ्नो सरकार ढल्ने निश्चित भएसँगै कसरी अगाडि बढ्ने भनेर शाक्यले आफू निकट सांसदहरूसँग छलफल गरिरहेकी छन् । केही सांसदले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका छन् भने केहीले विश्वासको मत सामना गर्नुपर्ने औंल्याएका छन् । ‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न । गठबन्धनलाई बहुमत पुर्‍याएर देखाउन हामी चुनौती दिन्छौं,’ एमाले मुख्य सचेतक दीपक निरौलाले भने ।

विपक्षी गठबन्धन भने सत्तापक्षले प्रदेशसभा वैठक सार्न चलखेल गरिरहेको भन्दै सांसदको हस्ताक्षर संकलन गरिसकेको छ । ‘प्रदेशसभाको वैठकमा मतविभाजन नगरेर सार्ने कोसिस भयो भने हामी प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि आग्रह गरेर जान्छौं । सरकार स्पष्ट रुपमा अल्पमतमा परिसकेको छ । हामीसँग बहुमत छ,’ माओवादी केन्द्रका नेता शालिकराम जम्म्कट्टेलले भने ।

मतविभाजन कार्यविधि तयार

प्रदेशसभाले अविश्वासको मत विभाजनका लागि कार्यविधि तयार गरेको छ । कार्यव्यवस्था तथा परामर्श समितिअन्तर्गत रहेर गठन गरिएको उपसमितिले ‘दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको संयोजक छिरिङदोर्जे लामाले जानकारी दिए । उनका अनुसार उक्त कार्यविधि बुधबार सभामुख सानुकुमार श्रेष्ठलाई हस्तान्तरण गरिनेछ । ‘हामीले प्रदेशसभामा दीर्घकालिन रुपमा प्रयोग हुने गरी कार्यविधि तयार गरेका छौं’, लामाले भने ।

उनका अनुसार कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ । उपसमितिमा राजेन्द्र पाण्डे, बुद्धिमान माझी, गणेश दुलाल, रिना गुरुङ, रिता माझी, सुरेन्द्रराज गोसाईं र शोभा शाक्य सदस्य थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?