‘भूमिहीनको  व्यवस्थापन हुन्छ’ : मन्त्री श्रेष्ठ- समाचार - कान्तिपुर समाचार

‘भूमिहीनको  व्यवस्थापन हुन्छ’ : मन्त्री श्रेष्ठ

रासस

चितवन — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिएकी छिन् ।

मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रमबाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।

'गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ,' उनले भनिन् । कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले सुकु्म्बासी समस्या समाधानका लागि संविधानअनुरुप गरिने जानकारी दिए । 'जनताले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ,' उनले भनिन् । लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ ।

'भूमिहीन जनताले संविधानले दिएको अधिकार उपभोग गर्न पाउँछन्,' उनले भने । अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिँदै जनताका पक्षमा कामगर्ने उनको भनाइ थियो ।

प्रकाशित : कार्तिक ९, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

जर्मन सम्पदाविद्को घरफिर्ती

नेपाली मठमन्दिर, चैत्य र वास्तुकला विश्वमा चिनाउने निल्स गुत्सो भन्छन्– ‘भक्तपुर संसारकै ठूलो लाइभ–म्युजियम’
देवेन्द्र भट्टराई

भक्तपुर — काठमाडौं उपत्यकामा हिप्पी जमातको प्रवेश हुनुअघि सन १९६२ मै नेपाल छिरेका थिए, निल्स गुत्सो । जर्मनीको हाइडलवर्गमा जेजस्तो सानो गाउँबस्तीमा हुर्केबढेका थिए, भक्तपुरको जौखेलमा बस्ने संयोग जुर्‍यो । त्यस्तै साधारण माटेघरमा उनी बस्दै आएको ५० वर्ष बितेको छ ।

सुरुमा हिप्पीझैं फिरन्ता बनेर, जर्मनीको ह्याम्बर्गबाट ९० दिनको बसयात्रामा दक्षिण–पूर्वी एसियाली मुलुक चहार्न हिँडेका थिए उनी । विश्व घुमेर घर फिरेपछि मात्रै उनले कला, सम्पदा र सभ्यताको महत्त्व बुझेर वास्तुकलाको औपचारिक अध्ययन थाले । ललितपुरका जात्रा, मच्छिन्द्रनाथको रमिता र भक्तपुरका भित्री बस्ती वा बाहिरी गल्लीमा देखिने जीवन्त दैनिकीका माझ गुत्सो पुरै लट्ठी । ‘अरूतिर उद्योग, कलकारखाना हुन्छन्,’ उनी सम्झन्छन्, ‘यो भक्तपुरमा बाटोमै माटोको काम हुन्छ, यही गल्लीमा ढुंगा कुँद्ने काम भइरहेको हुन्छ, काठ वा कलाका अरू काम बाटैमा भइरहेका हुन्छन् । बिस्केट जात्रा भन्नुस् वा नवदुर्गा पूजा, भक्तपुरभन्दा ठूलो लाइभ–म्युजियम संसारमै अर्को के हुन सक्ला ?’

आफू १६ वर्षको छँदै गुत्सोले पढेका रहेछन् नेपालबारेको एउटा पुस्तक । जहाँ धौलागिरि, मुस्ताङ आदिबारेको बयान रहेछ । त्यही पुस्तकको पाना पछ्याउँदै उनी मुस्ताङका टुकुचे, मार्फामा गएर केही समय बसे । ‘संयोगले म वास्तुकला पढेको जर्मन थिएँ,’ उनी भन्छन्, ‘त्यहीबेला भक्तपुरको पुजारी मठ प्रबलीकरण गर्ने जर्मन सरकारको एउटा योजना अगाडि बढेको रहेछ । त्यही काममा म पहिलो पटक जोडिएको थिएँ ।’ कला–सम्पदाको संरक्षण–संवर्द्धन तथा भक्तपुरको आफ्नोपनमा उनी भिजिरिहेका थिए । फेरि पनि सन् १९७४ मा ‘अर्बान स्पेस एन्ड रिचुवल्स’ विधामा जर्मन छात्रवृत्ति पाएर फेरि भक्तपुरमै किला गाड्न आइपुगे । गुत्सोको जीवनमा अझ गतिलो संयोग के छ भने उनका बुबा पनि जर्मनीमा वास्तुविद्का रूपमा चिनिएका थिए । छोराले भक्तपुरमा गरेको काम हेर्न उनी पनि नेपाल आइपुगेका थिए ।

झन्डै ४० वर्षयता गुत्सोका अनन्य मित्र रहेका पत्रकार कनक दीक्षितका बुझाइमा यी सम्पदाप्रेमी गुत्सो नेपाली मठमन्दिर, चैत्य, वास्तुकला र विशेषतः भक्तपुरलाई बाहिरी विश्वमा चिनाउने एक ‘आधिकारिक अभियन्ता’ हुन् । यी ८० वर्षे अन्वेषकले सोधपरक ढंगमा लेखेका नेपाल विषयक कृतिहरू मात्रै पनि अध्यन–अनुसन्धान जगत्का निम्ति ‘अभिलेखीकरण’ सरह रहेका छन् । गुत्सोले लेखेका ‘द नेप्लिज चैत्य’, ‘भक्तपुर’, ‘नेवार टाउन्ज एन्ड बिल्डिङ्ज’, ‘नेप्लिज आर्किटेक्चर’ सहितका कृति र जर्मन रिसर्च काउन्सिलको सहयोगमा गरिएको गोर्खा, नुवाकोट, मुस्ताङ (काग, खिङ्गा, ते) को वास्तु सम्पदा अभिलेखीकरण इतिहासमै उल्लेख्य छन् ।

‘नेपालको राणाकालीन समयदेखि, राजा–महाराजा र सन्त–महन्तसम्मैले अध्ययन, ज्ञान वा मोक्षकै निम्ति भारतमा उत्तर प्रदेशको काशीलाई रोज्ने भएकाले त्यसको अन्तर्य पहिल्याउन पनि केही वर्ष त्यता भौंतारिएको थिएँ,’ गुत्सोले सुनाए, ‘नेपालको गोप्य राजधानी (इनर क्यापिटल) बनारस पो हो कि झैं लाग्छ ।’ गुत्सो आफ्नो सम्पदाप्रेम र संरक्षण–संवर्द्धनको अभियान तारागाउँ म्युजियम र सर्राफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन एन्ड कल्चरमार्फत पनि अघि बढाइरहेका छन् । म्युजियमका निर्देशक रोशन मिश्रका अनुसार गुत्सोका धेरै सम्पदा र वास्तुकला खोजका सामग्री म्युजियममा सुरक्षित छन् । नेपाली वास्तुकला र सम्पदाबारेका झन्डै डेढ दर्जन कृति सर्राफ फाउन्डेसनले प्रकाशित गरिदिएको छ । फाउन्डेसनका प्रमुख अरुण सर्राफका बुझाइमा ‘निल्स गुत्सो एकजना साधु हुन् जो तप गर्न नेपाल आएका थिए । अब तप–ध्यानपछि घर फिर्दैछन् ।’

तस्बिरहरू : कञ्‍चन अधिकारी/कान्तिपुर

आजीवन नेपालमै बस्ने र यतै सोध–अन्वेषणमै जीवन बिताउने सोच भए पनि आउने महिना गुत्सो जन्मघर फिर्दै छन्, ८२ वर्षीया श्रीमती साथै लिएर । ‘श्रीमती शारीरिक रूपमा निकै कमजोर भइन्, स्वास्थ्य समस्या छ,’ गुत्सोले आफ्नो व्यक्तिगत समस्या र कठिनाइ सुनाउँदै भने, ‘म आगामी नोभेम्बर पहिलो साता जर्मनी फर्कनेछु, सधैंसधैं नवदुर्गाको भक्त र ध्यानी भएकाले फेरि पनि नेपाल आउन पाउँला भन्ने झिनो आशा साँचेकै छु ।’

प्रकाशित : कार्तिक ९, २०७८ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×