कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हामीलाई अदालतको राजनीतिक दाउपेच र खिचातानीमा पर्नुछैन : ओली

'सत्तारुढ गठबन्धनबाट सिस्टमलाई कमजोर बनाउने प्रयास भइरहेको छ'
देवनारायण साह

विराटनगर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र विरोधमा नलाग्ने बताएका छन् । प्रेस चौतारी मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष र शक्तिपृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय चाहेको बताएका हुन् ।

हामीलाई अदालतको राजनीतिक दाउपेच र खिचातानीमा पर्नुछैन : ओली

अहिले एमालेको चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने राज्यको एउटा विश्वसनीय र महत्त्वपूर्ण अंगको रूपमा हेर्ने बनाउने भएको ओलीको भनाइ थियो ।

‘हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र त्यहाँभित्रका खिचातानीमा पर्नु छैन,’ अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रविरुद्धको ५ जनाको फैसलालाई लिएर जुन उहाँहरु कुरा गरिरहनु भएको छ, त्यो फैसला आएपछि बारले डेलिगेसन गइकन इजलास तोकेको होइन र ?’

अध्यक्ष ओलीले अगाडि भने, ‘न्यायाधीशलाई न्यायाधीशको आसनमा बसेर न्याय निरुपण गर्न त अदालतका श्रीमान्ज्यूहरुले नै नदिएको होइन र ? बारको डेलिगेसनले इजलास गठन गर्ने वा धम्कीका भरमा इजलासका सदस्यहरु फेर्ने वा आफूले भनेजस्तो खाल्को भएन भने न्यायाधीश मान्दिनँ भनेर इजलासबाटै भनिने यी तमासा परमादेशभन्दा अगाडिकै सेटिङ होइन र ?’ लोकतन्त्रको स्तम्भ र देशको तीन वटा अंगमध्येका एउटा अंग सर्वोच्च अदालत जस्तो ठाउँमा यस्तो क्रियाकलाप हुन नहुने ओलीले बताए ।

संवैधानिक इजलासका बारेमा पहिलेदेखि नै प्रश्न उठेको पनि ओलीको भनाइ छ । ‘संविधानको बर्खिलाप सुशीला कार्कीले उहिले नै फैसला गर्नुभयो,’ उनले भने, ‘संविधानको धारा २७ (२) मा भएको व्यवस्थाबमोजिम सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहने र त्यस इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधिसले तोकेका ४ जनासहित ५ जना हुने व्यवस्था छ ।’ सर्वोच्च अदालत त्यही बेलादेखि संविधानविपरीत चलिरहेको उल्लेख गर्दै ओलीले आफूहरुले खबरदारी गर्दै आएको बताए ।

सत्तारुढ गठबन्धनले अहिले प्रणालीमाथि नै प्रहार गरेको पनि उनको आरोप छ । ‘प्रक्रियागत ढंगले विभिन्न अंग र राज्यका निकायहरुलाई कमजोर पारेर सिस्टम कमजोर पार्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘तर एमाले जस्तो पार्टी र सचेत जनता भएकोले सिस्टमलाई असफल पार्न सम्भव छैन तर यसलाई अलिकति बदानाम गर्ने र प्रभाव कम पार्ने काम अहिलेको सरकारबाट भइरहेको देखिरहेका छौं ।’

‘अर्ली इलेक्सन’को विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले चुनाव चाहने र नचाहने कुराभन्दा पनि अहिलेको सरकारले हात उठाइसकेकोले अब समय खेर फाल्नुको अर्थ नभएको बताए । ‘अहिलेको स्थितिमा संसद्ले कुनै काम गर्न सकिरहेको छैन,’ उनले भने, ‘हामी सरकारमा हुँदा सदनमा एक जना उभिँदा खेरि बन्द हुन थियो तर अहिले देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षी पार्टीले विरोध जनाउँदा जस्केलाबाट, झ्यालबाट हाम्फालेरलगायत ठाउँबाट छिरेर मन्त्री आउने र सदन सुरु भयो भनेर तमासा देखिराखिएकै छ त ।’

प्रकाशित : कार्तिक ९, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?