१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३३ किलो सुन तस्करी र हत्या मुद्दा : गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना

मृतकका परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला
विनोद भण्डारी

विराटनगर — ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ ।

३३ किलो सुन तस्करी र हत्या मुद्दा : गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना

जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरिवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

असोज १९ गते लम्सालकै इजलासले सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकलाई तीन वर्ष र एक जनालाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सबै प्रतिवादीलाई सफाइ दिएको थियो ।

उस बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । लम्सालकै सोमबारको इजलासले थप फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । ‘असोज १९ गतेको इजलासले उप्रेतीले शाक्यको अपहरण र शरीर बन्धक बनाएको दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन,’ उनले भने ।

घटनाका मुख्य आरोपी उप्रेतीसहित ७७ जनालाई प्रतिवादी बनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।

असोज १९ गतेको इजलासले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको थियो । बाँकी ५६ जनालाई सफाइ दिँदै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तबीमा राखिएको थियो ।

मुद्दाका प्रतिवादीमध्ये सुरेन्द्र गौतम, रुस्तम मियाँ, रोहित आचार्य, टुकबहादुर मगर, मरिन तामाङ, मोहनकुमार अग्रवाल, सुनीलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, कमल कार्की, मणिराज चौलागाईं, शिवकुमार गुवाजू, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, माधव आचार्य, अभिप्रकाश नेवार, रक्षा भण्डारी र सन्दीप खड्का फरार रहेको अदालतले जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?