कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्वास्थ्यकर्मीलाई तलब न भत्ता

कोभिड कोषको खाता स्वास्थ्य मन्त्रालयको नाममा नआउँदा समस्या
दीपक परियार

पोखरा — गण्डकी प्रदेश सरकारले कोभिड कोषबाट तलब भत्ता बेहोर्ने गरी गत वैशाख र जेठमा ४ सय ४४ कर्मचारी करारमा भर्ना गर्‍यो । स्वास्थ्यकर्मीसहितका कर्मचारीले साउनदेखि असोजसम्मको न तलब पाएका छन् न जोखिम भत्ता नै । 

स्वास्थ्यकर्मीलाई तलब न भत्ता

तत्कालीन सामाजिक विकास मन्त्रालयले प्रदेशभर विभिन्न जिल्लामा रहेका कोभिड अस्पतालमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, फार्मेसिस्ट, मेडिकल रेकर्डर र कार्यालय सहयोगी करारमा भर्ना गरेको थियो । जेठ २९ मा प्रदेश सरकार परिवर्तन भएपछि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छुट्टियो । कोभिड कोषको खाता भने स्वास्थ्य मन्त्रालयको नाममा जान समय लाग्यो ।

प्रदेशअन्तर्गतको संक्रामक तथा सरुवा रोग अस्पतालमा ६० स्वास्थ्यकर्मी करारमा थपिएका छन् । दसैंअघिसमेत स्वास्थ्यकर्मीले तलब नपाउने स्थिति बनेपछि आन्तरिक कोषबाट पेस्की दिइएको अस्पतालका निर्देशक डा. विकास गौचनले बताए । उनका अनुसार करार र दरबन्दीका स्वास्थ्यकर्मीले प्रदेशबाट हालसम्म जोखिम भत्ता पाएका छैनन् । अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिले निर्णय गरेपछि आन्तरिक स्रोतबाट दसैंअघि प्राविधिक कर्मचारीलाई २० हजार रुपैयाँ र कार्यालय सहयोगीलाई १९ हजार रुपैयाँ दिइएको थियो । ‘तलब र जोखिम भत्ता आएपछि त्यसबाट सोधभर्ना गर्ने गरी पेस्की दिएका हौं,’ उनले भने । अन्यत्र खटिएका करारका स्वास्थ्यकर्मीको तलब व्यवस्थापनका विषयमा भने आफू जानकार नरहेको उनले बताए ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको कोभिड कोषको खाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा ल्याउन प्रक्रिया अघि बढिसकेको मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए । ‘मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयले विवरण पठाउनासाथ स्वास्थ्य मन्त्रालयको नाममा आउँछ ।’ करारका कर्मचारीको असोजमा म्याद सकिएको भए पनि प्रदेश सरकारले एक महिना थप गरेको छ । प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले कात्तिकपछि संक्रमितको चापलाई मध्यनजर गर्दै करारका स्वास्थ्यकर्मीको म्याद थप्ने नथप्ने निर्णय हुने बताए । खाता सर्नेबित्तिकै करारका स्वास्थ्यकर्मीको तलब निकासा हुने उनले जनाए । ‘स्वास्थ्यमन्त्री आफैं संक्रमित हुनुभएकाले केही निर्णय हुन ढिलाइ भएको हो,’ उनले भने, ‘तलब निकासामा समस्या हुँदैन ।’

संघअन्तर्गतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले पनि जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले भत्ता नपाउँदा उत्प्रेरित गर्न नसकिएका अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् । ‘कोभिड संक्रमण उच्च हुँदासमेत स्वास्थ्यकर्मीले मनोबल नगिराइ काम गरे,’ उनले भने, ‘अहिले पनि खतरा टरिसकेको छैन । यस्तो अवस्थामा कत्ति पनि जोखिम भत्ता नपाउँदा काममा प्रेरित गर्न गाह्रो हुन्छ ।’ जोखिम भत्ता दिनेबारे तयारी भएको सुने पनि कहिलेसम्म पाउने भन्ने यकिन नभएको उनले सुनाए । उनका अनुसार दसैंअघि अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको संख्या न्यूनतम १३ मा झरे पनि फेरि उकालो लाग्न थालेको छ । हाल दैनिक २०–२२ जना संक्रमितको उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा आइतबार ४२ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ सय ५० रहेको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?