मोतीपुर घटना : अर्धबेहोसीमै छिन् कलावती- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोतीपुर घटना : अर्धबेहोसीमै छिन् कलावती

प्रहरीले नियन्त्रणमा लिएर गोली प्रहार गरेको मृतक वीरेन्द्रका परिवारको दाबी
सन्जु पौडेल

लुम्बिनी — २८ वर्षीया कलावती कुर्मीको आँसु नथामिएको सोमबार १५ दिन पुग्यो । परिवारका अरू सदस्य पनि छिनछिनमा डाँको छोडेर रुन्छन् । आफन्त र छिमेकी सम्हाल्ने प्रयास गर्छन् । सिउँदो पुछिएको दिनदेखि कलावती अर्धबेहोसीमै छन् ।

गत असोज २४ गते बुटवल–१७ रानीगन्जमा भएको घटनामा परिवारको खुसी लुटिएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका अतिक्रमणकारी र प्रहरीबीच भएको झडपमा कलावतीका श्रीमान् वीरेन्द्र पनि परे । त्यसयता आफैं सम्हालिन नसकेकी कलावतीलाई ९ र ३ वर्षका छोरा तथा ५ वर्षीया अपांगता भएकी छोरी स्याहार्न सकस भएको छ । ठूला छोरा केही बुझ्ने भइसकेका छन् । आमालाई नरुनु भनी सम्झाउँछन् तर आफू भने अर्को कोठामा गई धुरुधुरु रुन्छन् ।

वीरेन्द्र गाउँमा सबैका लागि मिजासिला थिए । उनी रङ लगाउन नगएको दिन तरकारी बेच्न, खेतमा काम गर्नर् र चौपाया स्याहार्नमै व्यस्त रहन्थे । ससुरालीमा पनि छोरा नभएकाले वीरेन्द्रले नै सबै काम सघाउँथे । हरेक काममा अग्रसर हुने उनी असोज २४ गते मन नलागी–नलागी बाहिर निस्किएका थिए । सोमबार बिहान कपिलवस्तुको शुद्धोधन–५ शीतलपाटीस्थित वीरेन्द्रको घर पुग्दा आँगनभरि मानिसको जमघट थियो । वीरेन्द्रका माइला दाइ विपिन भाइको हत्या भएको भन्दै न्यायका लागि लडिरहने बताइरहेका थिए । पेसाले घर तथा भवनमा रङ लगाउने र जिप्सन हाल्ने ठेकेदार रहेका विपिनको मणिग्राम र पत्थरगन्जमा काम चलिरहेको थियो । आफूसँगै अन्य दुई भाइलाई पनि उनले सोही काम लगाइरहेका थिए । कामकै सिलसिलामा असोज २४ को बिहानै उनी कार्यक्षेत्रमा पुगे । चार भाइमध्ये विपिन अलग्गै बस्छन् भने जेठा दाइ, कान्छा भाइ र वीरेन्द्र बुबासँगै सगोलमा बस्थे । विपिनले त्यस दिन बिहानै वीरेन्द्रलाई फोन गरी साइटमा आउन भने ।

वीरेन्द्र सधैं हिँड्ने बाटोमा त्यस दिन अवरोध रहेको जानकारी स्थानीयको खासखुस र मानिसको हतारको ओहोरदोहोरबाट प्रस्ट बे । विपिनले उनलाई जुगडिया गाउँ बोलाएका थिए । वीरेन्द्र पत्थरगन्ज हुँदै त्यतातर्फ लाग्दै थिए, झडप भइरहेको भन्ने जानकारी पाए । उनले दाइलाई फोन गरी रानीगन्ज हुँदै निस्कने सडक अवरुद्ध रहेको र आफू अर्को बाटो हुँदै साइट पुग्ने जानकारी गराएर धन्दापुर गाउँ पुगे । त्यहाँका स्थानीयले ‘काम गर्न हिँडेको झोला र कपडा छ, केही गर्दैनन् जाऊ’ भनी ढाडस दिएपछि उनी अघि बढे । वीरेन्द्र २५ मिटरजति अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरे । उनी धर्खरिँदै नहरमा लडे । वीरेन्द्रलाई चिनेका एक छिमेकीले उनलाई प्रहरीले कुट्दै गाडीमा हालेर लगेको बताए ।

यो खबर पाएपछि विपिनले आफ्नो सम्पर्कमा रहेका राजनीतिक व्यक्ति र पहुँचवालालाई भाइका बारेमा बुझिदिन सम्पर्क गरिरहे । विपिनकी श्रीमती रीताले टिकटकमा वीरेन्द्रको तस्बिर र भिडियो देखिन् । भिडियोमा उनी रगताम्य देखिएका थिए । समाचारमा समेत वीरेन्द्रको तस्बिर आएपछि विपिन छिमेकी र कान्छा भाइ सुरेन्द्रलाई लिएर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुगे । हरेक वार्ड, कक्ष छान मारे, भाइ भेटिएनन् । त्यहाँबाट रिफर भएका बिरामी युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थाहा पाएपछि उतै लागे । उक्त अस्पतालमा समेत बिरामीको लिस्टमा वीरेन्द्रको नाम नभेटिएको विपिनले सुनाए । अर्को दिन बिहानै उनीहरू पुनः अस्पताल पुगे । बल्लतल्ल केही समयपछि उनीहरूले मृतक र घाइतेको लिस्ट हेर्न पाए । कसैको मोबाइलमा घाइते र मृतकका तस्बिरमा विपिनले आफ्ना भाइलाई देखे । ‘भाइ गुमाएको थाहा पाएपछि हामी त्यहाँ उभिनै सकेनौं,’ उनले भने, ‘लगत्तै घर फर्कियौं ।’

पोस्टमार्टमअघि शव हेर्न हारगुहार गरे पनि प्रहरीले नदिएको र बन्द कोठामा लगेर जाहेरी लेख्न लगाई हस्ताक्षर गराएको उनको भनाइ छ । ‘सरकारले पैसा दिएर मृतक परिवारलाई चुप गराउन खोजे पनि हामी न्यायका लागि लडिरहन्छौं,’ विपिनले भने, ‘भिडियोमा प्रहरीले वीरेन्द्रलाई गरेको दुर्वचन र उनको छटपटीले मनमा चोट पुगेको छ ।’ प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरी लगेर गोली प्रहार गरेको पीडित परिवारको दाबी छ । प्रहरीले भने उपचारका क्रममा वीरेन्द्रको मृत्यु भएको बताउँदै आएको छ । बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका अतिक्रमणकारी र प्रहरीबीच भएको झडपमा कुर्मीसहित चार जनाको मृत्यु भएको थियो । कपिलवस्तुको वाणगंगा–१० का ४८ वर्षीय रमेश परियार, पूर्वी नवलपरासी अरुणखोलाका १८ वर्षीय युजन कुमाल र पश्चिम नवलपरासीको सरवालका ४२ वर्षीय केशनारायण केवटले पनि घटनामा ज्यान गुमाएका थिए । प्रहरीसहित झन्डै ६० जना घाइते भएका थिए ।

मृतकका परिवारलाई राहतस्वरूप प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको छ भने संघीय सरकारबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिन जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सिफारिस गरेको छ । अतिक्रमणकारीले ढुंगामुढा गर्न थालेपछि बाध्य भई प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । घटनापछि मोतीपुरको रानीगन्ज क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको छ । उक्त क्षेत्रमा अहिले पनि प्रहरीको कडा निगरानी छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न टोली बनाउने समूहका मुख्य व्यक्ति मंगलबार बुटवलबाट पक्राउ परिसकेका छन् । राजु आलमका नामबाट परिचित कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल–११ मा बस्दै आएका ४४ वर्षीय साविर अलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित : कार्तिक ९, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

खण्डहर बन्दै म्याग्नेसाइट उद्योग

२०३६ सालमा ३ अर्ब ५९ करोड लगानीमा सञ्चालनमा आएको उद्योग १९ वर्षदेखि बन्द, जीर्ण बने संरचना
अनिश तिवारी

सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको लामोसाँघु बजारस्थित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग अझै सञ्चालनमा आउन सकेको छैन । १९ वर्षदेखि बन्द रहेको मुलुककै ठूलोमध्येको यो उद्योग पुनः सञ्चालनका स्थानीय तह र अन्य निकायले पहकदमी लिए पनि तीव्रता नपाउँदा खण्डहर बन्दै छ । 

ओरियन्ट म्याग्नेसाइट २०५८ सालदेखि बन्द छ । उद्योगमा सन्तोषजनक उत्पादन नभएपछि लामो समय परीक्षण गर्ने काम भएको तत्कालीन कार्यकारी निर्देशक दिनेशराज भट्टराई बताउँछन् । धेरै पटकको परीक्षण गर्दा पनि योग्य डीबीएम उत्पादन हुन नसकेपछि कम्पनी बन्द भएको उनको दाबी छ । भारत र बंगलादेशमा म्याग्नेसाइटको माग भएपछि नेपालमा रहेको म्याग्नेसाइटको उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले भारतीय उडिसा इन्ड्रस्टिज, खेतान समूह र निजी क्षेत्र नेपालसँग सरकारको संयुक्त पहलमा २०३६ सालमा ३ अर्ब ५९ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको थियो ।

वार्षिक ५० हजार टन डीबीएम म्याग्नेसाइट उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याइएको थियो । तर सञ्चालनदेखि नै वार्षिक २० हजार टन मात्र डीबीएम उत्पादन गरेको उद्योग स्रोतले बताएको छ । लामोसाँघुस्थित कारखानालाई आवश्यक कच्चा पदार्थ रोपवेका माध्यमबाट दोलखाको लाँकुरीडाँडा खरीढुंगाबाट ल्याउने गरिएको थियो । बिक्रीयोग्य डीडीएम उत्पादन भए पनि उच्चपदस्थ कर्मचारी कमिसनको चलखेलमा लागेपछि उद्योग बन्द भएको म्याग्नेसाइटका पुराना कामदार बताउँछन् ।

‘परीक्षणका बेला नै केही विदेशीले सर्तसहित बिक्रीयोग्य डीबीएम उत्पादन गरेर देखाएका थिए,’ एक कामदारले भने, ‘तर भित्र के प्रपञ्च रचियो, ती विदेशी रुँदै बाहिरिएर गए । अनि कम्पनी बन्द भयो ।’ वर्षौंदेखि बेकामे बनेका म्याग्नेसाइटका सबै संरचना बिग्रिँदै छन् । डीबीएम भट्टी कारखाना रहेको स्थान भासिँदै छ । तल्लो स्थानको पदार्थ संकलन केन्द्र र ल्याब भत्किसकेका छन् । कम्पनीको रोपवे खरिढुंगादेखि लामोसाँघुसम्मको करिब १०.५० किमि क्षतविक्षत छ ।

उद्योग सञ्चालन गर्न वर्षैपिच्छे निर्णय गरिए पनि अदालती मुद्दा देखाएर प्रक्रिया अगाडि नबढाइएको स्थानीय रेशम कार्कीले बताए । ‘म्याग्नेसाइट सञ्चालन हुन सकेन,’ उनले भने, ‘म्याग्नेसाइड बन्द हुनाले सयौं बेरोजगार छन् । कम्पनीका जिम्मेवार व्यक्तिले नै यहाँका रूख, ढुंगा सबै बेचिसके ।’

प्रकाशित : कार्तिक ९, २०७८ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×