कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

जसले जोखिम मोलेर परिवार बचाए

‘दाइले मरें भनेको सुनेपछि केही पनि नसोचेर धमाधम ढुंगा पन्छाउन थालें । मेरो शरीरमा पनि ढुंगा खसिरहेका थिए ।’
वसन्तप्रताप सिंह

थलारा, बझाङ — पहिरोमा परेर घर भत्किए पनि एक युवकले जोखिम मोलेर परिवारका चार सदस्यको ज्यान बचाएका छन् । बझाङको थलारा गाउँपालिका—४ डिक्लामा गत सोमबार राति पहिरो खसेको थियो । पहिरोले घर भत्किँदा पुरिएकाहरूको स्थानीय १८ वर्षीय सुरेन्द्र विष्टले उद्धार गरेका हुन् ।

जसले जोखिम मोलेर परिवार बचाए

माथिबाट एक्कासि आएको पहिरोले घर भत्किएपछि सुरेन्द्रसहित दाजु लोकेश विष्ट, भाउजू इन्द्रकला, भाइ र एक महिनाकी भतिजी घरमा च्यापिएका थिए । ‘सुतिरहेका बेला असिना परे जस्तो ठूलो आवाज आयो । म बिउँझेर उठें,’ सुरेन्द्रले भने, ‘उठेर बाहिर जान खोज्दै थिएँ घर पछाडिको पर्खाल भत्किएर सबै च्यापिए ।’ चारै जनाको उद्धार गरिनसक्दै पहिरोले घर नै पूरै बगाएको उनले बताए । ‘दाइले मरें भनेको सुनेपछि केही पनि नसोचेर धमाधम ढुंगा पन्छाउन थालें ।

मेरो शरीरमा पनि ढुंगा खसिरहेका थिए । ढुंगा छेक्दै सुरुमा दाइलाई निकालें । त्यसपछि भाउजू, भतिजी र भाइलाई निकालें,’ उनले सुनाए ।

सुरेन्द्रले करिब २० मिनेटको अवधिमा चार जनाको उद्धार गर्दा पहिरोमा खसेका ढुंगा लागेर उनीहरू घाइते भइसकेका थिए । ढुंगाले लागेर सुरेन्द्रको पनि टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । ‘सबैलाई बचाइसकेपछि मात्रै थाहा पाएँ । मेरो त शरीरभरि चोटैचोट लागेको रहेछ,’ उनले भने । सुरेन्द्रले साहस गरेर उद्धार नगरेको भए परिवारका सबै सदस्य एकै चिहान हुने निश्चित भएको उनकी भाउजू इन्द्रकलाले बताइन् । ‘एक्कासि ढुंगा खस्न थालेपछि मैले छोरीलाई बचाउन छातीमा च्यापेको याद छ । त्यसपछि केही थाहा पाइनँ,’ उनले भनिन्, ‘मलाई तानेर बाहिर निकालेको धेरैपछि मात्रै होस आयो ।’ उनले परिवारका अरू सबै सदस्यलाई चोट लागे पनि एक महिनाकी छोरीलाई भने केही नभएको बताइन् ।

‘भाइले जोखिम नउठाएको भए परिवार नै सकिने रहेछ,’ दाइ लोकेशले भने, ‘घरभित्रको सामान बचाउन नपाए पनि ज्यान बच्यो । त्यसैमा खुसी छौं ।’ उनले पहिरोले घर बगाएपछि जीउमा लगाएको लुगाबाहेक केही नबचेको बताए । जोखिम मोलेर परिवारको उद्धार गरेपछि सुरेन्द्रको गाउँमा प्रशंसा भइरहेको छ । उनलाई संविधानसभा सदस्यसमेत रहेका स्थानीय लालबहादुर रावल, गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्याय र वडाध्यक्ष विष्णु विष्टले भेटेरै बधाई दिएका छन् भने परिवारको पुनःस्थापना र राहतको व्यवस्था गर्ने आश्वासनसमेत दिएको सुरेन्द्रले बताए ।

जिल्ला अस्पताल बझाङबाट गएको डा. योगेन्द्र खातीको टोलीले उनीहरूको उपचार गरेको थियो । डिक्ला गाउँमा खसेको पहिरोमा बेपत्ता भएका २३ जनामध्ये आइतबारसम्म चार जनाको मात्रै शव फेला परेको छ । अन्यको खोजी भइरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?