कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अक्करे भीरको पहिरोले सधैं सास्ती

राजकुमार कार्की

सिन्धुली — मध्यपहाडी लोकमार्गमा पर्ने अक्करे भीरमा सोमबार बिहानै सुक्खा पहिरो खस्दा सडक पुनः अवरुद्ध बन्यो । पहिरोले कुनै दुर्घटना ननिम्तिए पनि सवारी साधन अक्करे भीर छिचोलेर गन्तव्यतर्फ जान पाएनन् । ४ घण्टा रोकिए । पूर्वी पहाडका जिल्लाहरू र सिन्धुलीकै दुईवटा गाउँपालिकामा पुग्न अक्करे भीर छिचोल्नै पर्छ । वैकल्पिक सडक छैन । यसअघि बेमौसमी वर्षाले पहिरो खस्दा अघिल्लो साता यो सडक २ दिन अवरुद्ध भएर एकतर्फी सञ्चालनमा आएको थियो ।

अक्करे भीरको पहिरोले सधैं सास्ती

लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–६ हैबारनजिक अक्करे भीर छ । पटक–पटक पहिरो गइरहने यो स्थानमा यात्रुहरूले जहिल्यै सास्ती बेहोर्नुपर्छ । गाउँपालिका केन्द्र ग्वाल्टारनजिक भएकाले पहिरो सफा गर्ने डोजर हरबखत उपलब्ध हुन्छ । सोमबार बिहान पनि गाउँपालिकाकै मेसिनले पहिरो सफा गरेपछि एकतर्फी यातायात सञ्चालन

भयो । यो पहिरोबाट पार पाउन मध्यपहाडी सडक आयोजनाले नै काम थाल्नुपर्ने गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्की बताउँछन् । ‘अक्करे भीरको पहिरो लामो छ । तीन ठाउँबाट खसेको छ, दीर्घकालीन निराकरण गर्न आयोजनाले नै काम थाल्नुपर्छ । स्थानीय तहको भरले मात्र उपाय लाग्दैन,’ उनले भने ।

यो आर्थिक वर्षमा मात्र सानाठूला गरी अक्करे भीरमा १५ पटकभन्दा बढी पहिरो खसेर यातायात अवरुद्ध भएको छ । भदौको पहिलो साता लगातार ४ दिन सडक अवरुद्ध बन्यो । दसैं मनाएर काठमाडौं फर्किंदै गरेका यात्रुहरूले पहिरोकै कारण २दिनसम्म कष्ट बेहोरे ।

स्थानीयका अनुसार अक्करे भीरमा खस्ने पहिरोले वर्षाको समयमा त दुःख दिन्छ नै, हिउँदमा पनि चर्को घाम लाग्नासाथ सुक्खा पहिरो खसेर यातायात सञ्चालनमा अवरोध हुने गरेको छ । सडक अवरुद्ध हुँदा ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, भोजपुर, रामेछापबाट काठमाडौं आवतजावत गर्ने यातायातका साधनहरू बाटोमै अलपत्र पर्ने गरेका छन् ।

प्रकाशित : कार्तिक ९, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?