कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

४२ किमिमा ४२ पहिरो

गमगढी–सोरू सडक अवरूद्ध हुँदा बिरामीलाई अस्पताल लैजान र ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्न समस्या
राजबहादुर शाही

काठमाडौँ — लगातार तीन दिनसम्मको पैदल यात्रापछि सोरु गाउँपालिका–४ की २१ वर्षीया सरला बुढा सोमबार सदरमुकाम गमगढी पुगिन् । ‘हिँड्दाहिँड्दै पहिरो खसेर पुर्छ कि भन्ने डरैडरमा यात्रा गरियो,’ उनले भनिन्, ‘ठाउँठाउँमा पहिरो खसेकाले हिँड्न पनि मुस्किल भयो ।’ उनकी छिमेकी मनमाया बुढाले खेपेको सास्ती पनि कम छैन । पाँच घण्टाको सवारी यात्रामा पुग्न सकिने गमगढी जान उनलाई दुई दिन लाग्यो । ‘दुई वर्षको छोरा च्यापेर हिँड्न यसै सकस भइहाल्छ, त्यसमाथि पहिरोले बाटो बिगार्दा झन् सास्ती भयो,’ उनले सुनाइन् ।

४२ किमिमा ४२ पहिरो

बेमौसमी वर्षाका कारण गमगढीदेखि सोरुसम्मको ४२ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खस्दा सातायता यातायात ठप्प छ । जिमा खोला र कुलाहाभीरमा ठूलो पहिरो खसेको मनमायाले बताइन् । बन्जाहा, पुरुमुरु, घिउचखोलालगायत ठाउँमा पनि पहिरो खसेकाले ढुंगा पन्छाउँदै बाटो बनाएर यात्रा गर्नुपरेको उनले दुखेसो पोखिन् । ‘आउँदा त जसोतसो आइयो,’ उनले भनिन्, ‘अब कसरी घर फर्कने ?’

गमगढी–सोरु सडकमा ४२ वटा ठूला पहिरो खसेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । १० वटा खहरे खोला उर्लिएपछि क्षति बढेको हो । ‘साना पहिरो त गनिसाध्य छैन, ठाउँठाउँमा खहरेले सडक बगाएको छ,’ उनले भने, ‘कहीं सडकभन्दा एक सय मिटर परसम्म जमिन भासिएको छ ।’ सडकमा ठूला–ठूला ढुंगा खसेकाले पैदल यात्रुलाई एकअर्काको हात समातेर आउजाउ गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । ‘सडक तहसनहस भएकाले मर्मत गर्न कम्तीमा एक महिना लाग्ने देखिएको छ,’ उनले थपे ।

तारापानी–ठिनी सडक पनि क्षतविक्षत रहेको स्थानीय जनक कार्कीले बताए । ‘जताततै पहिरैपहिरो छ,’ उनले भने, ‘बिरामीलाई अस्पताल लैजानसमेत समस्या भयो ।’ खाद्यान्न ढुवानी गर्न नसकिएपछि गाउँमा अभाव देखिन थालेको उनले सुनाए ।

गमगढीदेखि तारापानीसम्मको २३ किमि सडक ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरी गाउँपालिकालाई ३ वर्षअघि हस्तान्तरण गरेको थियो भने तारापानी–सोरु सडक गाउँपालिकाले निर्माण गरेको हो । पहिरो पन्छाउन डोजर प्रयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार मुगुमकार्मारोङ गाउँपालिका जोड्ने गमगढी–छाइल सडक पनि पहिरोले क्षतविक्षत भएको छ । उक्त खण्डको भट्टडाँडीमा ठूलो पहिरो खस्दा यातायात सञ्चालन गर्न समस्या भएको हो ।

प्रकाशित : कार्तिक ९, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?