कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कसरी हुँदैछ एमालेको गाउँ नगर अधिवेशन ?

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो एक बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — दसौं राष्ट्रिय महाधिवेशनको तयारी रहेको एमालेले मंगलबार देशभरका सबै स्थानीय तहको अधिवेशन गर्ने भएको  छ । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो एक बजे माइतिघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । बाढीपहिरोका कारण प्रभावित भएका बाहेक सबै पालिकाको अधिवेशन एकै पटक आयोजना गरेर नयाँ नेतृत्व छनोटका लागि एमाले तयार देखिएको छ ।

कसरी हुँदैछ एमालेको गाउँ नगर अधिवेशन ?

'केन्द्रीय कार्यलयबाट अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे भर्चुअल माध्यमबाट सबै पालिका अधिवेशनको उद्घाटन गर्नु हुनेछ,' एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए, '७ सय ५३ वटै स्थानीय तहको अधिवेशन एकै पटक गर्ने तयारी हो । बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा मंगलबार हुने हो । कहाँ–कहाँ स्थगित गर्ने भनेर निर्णय स्थानीय र जिल्ला कमिटीले गर्नेछ ।'

एमालेमा मंगलबार ६ सयभन्दा बढी स्थानीय तहको नेतृत्व छनोट हुने अपेक्षा गरिएको छ । एमाले विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ सदस्य रहेको कमिटी गठन गर्नसक्ने व्यवस्था छ । त्यसैगरी उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । सो कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उप सचिव १-१ जना निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

देश संघीय संरचनामा गएपछि र राजनीतिक दल सम्बन्धी नयाँ कानुनमा रहेको व्यवस्थाअनुसार एमालेले नेतृत्व छनोट गर्न लागेको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले राजनीतिक दलहरुको कमिटीमा महिलाको संख्या ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

एमालेले गत शनिबार एकै पटक देशभरको ६ हजार ७ सय ४३ वडा अधिवेशनको आयोजना गर्दै नेतृत्व छनोट गर्ने तयारी गरेको थियो । बाढी पहिरोको कारण स्थगित भएको बाहेक करिब ६ हजार वडाको नेतृत्व छनोट गरिएको दाबी एमालेले गरेको छ । जसमा अधिकांश स्थानमा नेतृत्व सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।

गत असोजमा ललितपुरको गोदावरीमा भएको पहिलो विधान महाधिवेशनबाट पारित गरेको विधानअनुसार स्थानीय तहको पार्टी नेतृत्व छनोटका लागि महाधिवेशन भएको हो ।

'पार्टीको विधानअनुसार नयाँ कमिटीहरुको गठन भएका छन् । पालिका कमिटीपछि राष्ट्रिय महाधिवेशनपछि मात्रै अन्य कमिटीको अधिवेशन गर्ने गरी तयारी छ,' तामाङले भने । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ । चितवनको स्थानीय कमिटीले भने नारायणी नदीको किनारामा महाधिवेशनको उद्घाटन र पर्यटकीय क्षेत्र सौराहमा बन्द सत्र गर्ने प्रस्ताव केन्द्रमा पठाएको छ ।

प्रतिनिधि छनोटको मापदण्ड बनाइने

एमालेको मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तय गर्नका लागि बिहीबार स्थायी कमिटी र शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । २०७७ साल चैत मसान्तसम्म पार्टी सदस्यता प्राप्त गरेको व्यक्ति महाधिवेशनमा प्रतिनिधि छनोटका लागि योग्य हुने यसअघि नै एमालेले जनाएको छ ।

यसअघि नै एमालेले महाधिवेशनको नेतृत्व छनोटका लागि विद्युतीय मतदान मेसिन (इभिएम)को प्रयोग गर्ने निर्णय गरिसकेको छ । नवौं महाधिवेशनमा इभिएम मेसिनको प्रयोगको विषयमा बिबाद उत्पन्न भएपछि कागजकै मतपत्र प्रयोग गरेर नेतृत्व छनोटको मतदान गरिएको थियो । सबै पदको मतगणना सकिएका लागि एक साताभन्दा बढी समय लागेको थियो ।

'राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ' एमालेको स्थायी कमिटीको निर्णयमा भनिएको छ, 'यस मेसिनको प्रयोगका लागि महाधिवेशन प्रतिनिधिहरुलाई विशेष प्रशिक्षणको व्यवस्था गरिनेछ । यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई अनुरोध गरिएको छ ।'

राष्ट्रिय महाधिवेशनले केन्द्रीय कमिटी, पदाधिकारी तथा सदस्यहरुको निर्वाचित गरेको छ । एमालेको नयाँ विधानअनुसार केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुने छ । जसमा अध्यक्ष, वरिष्ठ एकसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव रहेको १४ सदस्यीय पदाधिकारी हुने छन् । केन्द्रीय निकायहरुमा सल्लाहकार परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा समिति रहेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?