कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

न्यायिक नेतृत्व गर्न जबरा असक्षम, न्यायपालिका जोगाउन राजीनामा : सर्वोच्च बार

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायपालिकाको नेतृत्व गर्नबाट पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीश पदबाट जबराले राजीनामा दिनुपर्ने माग पनि सर्वोच्च अदालत बार एशोसिएसनले गरेको छ ।

न्यायिक नेतृत्व गर्न जबरा असक्षम, न्यायपालिका जोगाउन राजीनामा : सर्वोच्च बार

सर्वोच्च अदालत बार एशोसिएसनको सोमबार बसेको कार्यसमिति बैठकले प्रधानन्यायाधीश जबरा न्यायलयको नेतृत्व गर्न पूर्णरूपमा असफल र असक्षम भएको निष्कर्ष निकालेको हो । बैठकपछि सर्वोच्च अदालत बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा न्यायपालिकालाई थप संकटबाट जोगाउन ‘समुचित निकासका लागि मार्ग प्रशस्त गर्न’ प्रधानन्यायाधीश जबरालाई आग्रह गरिएको छ ।

‘न्यायालयभित्र रहेका विकृति, विसंगति अन्त्य गरी न्याय सम्पादन तथा न्याय प्रशासन संचालन गर्न न्यायिक नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको यस बारको ठहर छ । सर्वोच्च अदालतको नेतृत्वबाट सिर्जित विश्वासको संकटका कारण आज २०७८ साल कात्तिक ८ गते सर्वोच्च अदालतको न्याय सम्पादनको काम कारबाही पूर्ण रूपमा ठप्प भई नागरिकको न्यायिक हक प्रचलनमा गम्भीर अवरोध श्रृजना भएको छ,’ सर्वोच्च बारले भनेको छ ।

जबराले उचित न्यायिक नेतृत्व गर्न नसकेका कारण सोमबारकै लागि बोलाइएको फूलकोर्टसमेत बस्न नसकेको र त्यसबाट उनी संविधानले दिएको जिम्मेवारी, भूमिका निर्वाह गर्न असफल तथा अक्षम रहेको निष्कर्ष सर्वोच्च बारले निकालेको हो ।

प्रधानन्यायाधीश जबराले न्यायालयमा सिर्जित विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएका प्रतिवेदन समेत कार्यान्वयन नगरी सुधारका कार्यमा बाधा अड्चन गरेको समेत सर्वोच्च बारले जनाएको छ । सर्वोच्च बार एशोसिएसनका पूर्वअध्यक्ष तथा पूर्वसचिव रहेको सल्लाहकार समितिले दिएका सुझाव र सल्लाह बमोजिम भन्दै बारको कार्यसमिति बैठकले जबरालाई राजीनामा दिन सुझाएको हो ।


प्रकाशित : कार्तिक ८, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?