परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू : गृह मन्त्रालय- समाचार - कान्तिपुर समाचार

परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू : गृह मन्त्रालय

मातृका दाहाल

काठमाडौँ — विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।

११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृह मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल गरेको हो ।

गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ ।’

भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ अफगान ‘शरणार्थी’ सोमबार सिनामंगलबाट पक्राउ परेका थिए ।

प्रहरीले उनीहरुलाई प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ । कात्तिक ४ र असोज तेस्रो साता उनीहरु बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त प्रयासमा एकै परिवारका ५ सहित ११ अफगान नागरिक सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ परेका थिए । अध्यागमन विभागले उनीहरुमाथि विदेशी नागरिक नियमन गर्ने सम्बन्धी प्रचलित कानुन अनुसार कारबाही हुने जनाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्

रोहिंग्या भित्र्याउने ३ जना पुर्पक्षका लागि थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्यालाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने ३ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानिलकण्ठ नगरपालिका–११ कपन राममन्दिर बस्ने सफिक आलम, डल्लु बस्ने आजमत अलि र नूर अमिनलाई असोज २ गते पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ब्युरोले जनाएको छ ।

‘नयाँ पारा रिफ्युजी क्याम्प’मा शरण लिएका रोहिंग्यालाई मासिक भत्ता, अमेरिका जान परिचयपत्र र नेपालबाटै अमेरिका पठाइदिने प्रलोभनमा ल्याएर अलपत्र पारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बुढानिलकण्ठ नगरपालिका–११ कपन राममन्दिरस्थित रोहिंग्या शरणार्थी क्याम्पमा बस्दै आएका नूर अमिन र सोफिक आलमले बंगलादेशी नागरिक आजमत अलिसँगको मिलेमतोमा १४ जना रोहिंग्या भित्र्याएका हुन् । सन् २०२२ मा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय (यूएनएचसीआर) बाट परिचयपत्र मिलाएपछि अमेरिकासमेत पठाइदिने प्रलोभन देखाई रोहिंग्याबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) समेत लिएको खुलेको छ । रोहिंग्यालाई बंगलादेशबाट साउन १८ गते हिँडाएर महिना दिनपछि काठमाडौं ल्याइपुर्‍याएको थियो ।

उनीहरुले काठमाडौं भित्र्याएका १४ रोहिंग्यालाई प्रहरीले नियन्त्रणमा लिई अध्यागमन विभाग बुझाएको थियो । विभागले ती रोहिंग्यालाई बुढानिलकण्ठ रोहिंग्या क्याम्प नजिकै पुर्‍याएर छोडेको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×