कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रोहिंग्या भित्र्याउने ३ जना पुर्पक्षका लागि थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्यालाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने ३ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानिलकण्ठ नगरपालिका–११ कपन राममन्दिर बस्ने सफिक आलम, डल्लु बस्ने आजमत अलि र नूर अमिनलाई असोज २ गते पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ब्युरोले जनाएको छ ।

‘नयाँ पारा रिफ्युजी क्याम्प’मा शरण लिएका रोहिंग्यालाई मासिक भत्ता, अमेरिका जान परिचयपत्र र नेपालबाटै अमेरिका पठाइदिने प्रलोभनमा ल्याएर अलपत्र पारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बुढानिलकण्ठ नगरपालिका–११ कपन राममन्दिरस्थित रोहिंग्या शरणार्थी क्याम्पमा बस्दै आएका नूर अमिन र सोफिक आलमले बंगलादेशी नागरिक आजमत अलिसँगको मिलेमतोमा १४ जना रोहिंग्या भित्र्याएका हुन् । सन् २०२२ मा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय (यूएनएचसीआर) बाट परिचयपत्र मिलाएपछि अमेरिकासमेत पठाइदिने प्रलोभन देखाई रोहिंग्याबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) समेत लिएको खुलेको छ । रोहिंग्यालाई बंगलादेशबाट साउन १८ गते हिँडाएर महिना दिनपछि काठमाडौं ल्याइपुर्‍याएको थियो ।

उनीहरुले काठमाडौं भित्र्याएका १४ रोहिंग्यालाई प्रहरीले नियन्त्रणमा लिई अध्यागमन विभाग बुझाएको थियो । विभागले ती रोहिंग्यालाई बुढानिलकण्ठ रोहिंग्या क्याम्प नजिकै पुर्‍याएर छोडेको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?