वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश जबराको राजीनामा- समाचार - कान्तिपुर समाचार

वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश जबराको राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर ।

वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधीश जबरा आफैलाई बढी क्षति हुन नदिन पनि तत्काल राजीनामा दिन उपयुक्त हुने तर्क गरे । उनले न्यायालयलई यतिधेरै विवादमा ल्याउने प्रधानन्यायाधीश जबरालाई पदमा बसिरहन नैतिकताले समेत नदिने बताए ।

उनले भने, ‘जरुरी के छ भने छिटोभन्दा छिटो उहाँले राजीनामा दिन जरुरी छ । अब उहाँ जति प्रधानन्यायाधीश भएर बस्नु भो, त्यति उहाँको व्यक्तित्वको क्षय हुन्छ । अहिले जति कुरा सतहमा आएको छ, त्यो भन्दा बढी कुरा आउँछ । उहाँको व्यक्तित्वको पनि थप क्षति हुन्छ । न्यायपालिकाको त क्षति भएकै छ । त्यसैले न्यायपालिकालाई जोगाउने हो भने उहाँको व्यक्तिको क्षति कम गराउने हो भने उहाँले २/४ घण्टामा राजीनामा दिन जरुरी छ । यदि राजीनामा दिनुभएन भने न्यायालयलाई यति धेरै विवादित बनाएर पदमा बस्ने नैतिक अधिकार उहाँलाई छैन ।’

अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश जबराले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरे । उनले न्यायालयमाथि देखिएको जोखिम टार्न पनि प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र उनको विकल्प खोजी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘अहिले न्यायिक जगत जलिरहेको छ । निभाउने मान्छे अपांग भइसकेको छ । त्यसैले प्रधानन्यायाधीश नै प्रमुख व्यक्ति हो । उनले अहिले तुरुन्तै राजीनामा दिएर यो जो जोखिमलाई सुधार्नु पर्दछ । प्रधानन्यायाधीशले अहिले तुरुन्त राजीनामा दिनु र अनि नयाँ विकल्प तत्काल खोज्नुपर्ने हुन्छ ।’

न्यायालयमाथि अति गरेकाले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले बताए । उनले नेपालको इतिहासमै न्यायपालिकाले कार्यपालिकासँग समेत लेनदेनको काम काम गर्नु दु:खद भएको उल्लेख गर्दै त्यस कामको नेतृत्वकर्ताको हैसियतमा प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् ।

तस्बिर : केशव थापा/कान्तिपुर

न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै डा. केसीले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् ।

सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले भनेका छन्–‘न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं ।’

उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न अपील गर्दै तत्काल राजीनामा नदिएमा उनको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×