२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कांग्रेस कार्यकर्ता ९५ दिनदेखि रिले अनसनमा, नेतालाई वास्ता छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत १३ जिल्लाको अधिवेशन भइसकेको छ । अन्य ५१ जिल्लामा पनि गाउँ/नगरपालिका कार्यसमितिले नयाँ नेतृत्व पाइसकेका छन् । तर रौतहट र रसुवामा भने क्रियाशील सदस्यताकै किचलो टुंगिएको छैन । त्यही दुई जिल्लाको सदस्यता नटुंगिदा अन्य ११ जिल्लामा पनि अधिवेशन रोकिएको छ ।

कांग्रेस कार्यकर्ता ९५ दिनदेखि रिले अनसनमा, नेतालाई वास्ता छैन

क्रियाशील सदस्यता नवीकरण र वितरणमा आफूहरूलाई अन्याय भएको भन्दै रौतहटका नेता कार्यकर्ता ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा ३ महिनादेखि रिले अनसनमा छन् । ‘हामी रिलेअनसनमा बसेको ९५ दिन भयो । यहाँ हाम्रो कार्यसमितिका २७ मध्ये १७ जना साथीहरू पालैपालो अनसन बसिरहेका छौँ,’ रौतहत कांग्रेसका कोषाध्यक्ष रामश्रेष्ठप्रसाद साहले भने ।

क्षेत्र नं. १ का ९८ जना प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरण नभएको उनीहरूको गुनासो छ । कांग्रेसले उनीहरूको गुनासो सम्बोधन गर्नुपर्छ भन्ने ठानेर ७५ जिल्लाको क्रियाशील सार्वजनिक भइसक्दा पनि रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको छैन ।

सदस्यतामा भएको घोटाला छानबिन हुनुपर्ने र सदस्यता नवीकरणमा बञ्चित गरिएका नेताहरूको सदस्यता नवीकरण हुनुपर्ने माग गरेर कोषाध्यक्ष साहसहित पूर्वराज्यमन्त्री बज्रकिशोर सिंह, महासमिति सदस्य देवचन्द्र मिश्र लगायत नेताहरू रिले अनसनमा बसेका छन् ।

क्षेत्र नं. १ को २७ सदस्यीय कार्यसमितिमध्ये २२ जना अनशन बसेका छन् । त्यस्तै, प्रदेशसभा क्षेत्रीय समितिबाट पनि बहुमत कार्यसमिति सदस्यहरू आन्दोलित छन् । ‘हामी यतिका दिनदेखि यहाँ बसिरहेका छौँ । हाम्रो कुरा सबै नेताहरूले सुनेर गएका छन् । तर कसैले पनि हाम्रो माग पूरा गरेनन् । हामीमाथि भएको अन्यायको सुनुवाई गरेका छैनन्,’ पूर्वराज्यमन्त्री सिंहले भने ।

उनीहरूले गत असारमा सक्रिय बनेको क्रियाशील सदस्यता छानबिन समितिमै गुनासा पुर्‍याएका थिए । तर समितिले त्यसबारे कुनै काम गरेन । त्यसो त समितिले के कति काम गर्‍यो, त्यो सार्वजनिक पनि भएको छैन ।

सदस्यता छानबिन गर्न बनेको समितिले नै समस्याबारे बेवास्ता गरेपछि आफूहरू रिले अनसनमा बस्न बाध्य भएको उनीहरू बताउँछन् । जिल्ला सभापति श्रीकृष्ण यादव र क्षेत्रीय सभापति शान्तिदेवी यादवको डिजाइनमा नवीकरण हुनैपर्ने व्यक्तिहरूको सदस्यता काटिएको उनीहरूको आरोप छ । उनीहरू रिले अनसनमा बसेपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा केन्द्रीय कार्यालय पुगेकै छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू शेखर कोइराला, अर्जुननरसिंह केसी लगायत त पटक–पटक पुगे । जति पटक पुगे, उनीहरूले हरेक पटक समाधान हुन्छ भन्न छाडेका छैनन् । तर उनीहरूका गुनासो सम्बोधन भएको छैन । ‘उहाँहरू आउनुहुन्छ । आश्वासन त दिनुहुन्छ । तर हाम्रो पक्षमा एउटा विज्ञप्तिसम्म पनि निकाल्नुभएन,’ कोषाध्यक्ष साहले भने ।

कांग्रेसका कार्यालयमा अनसन, रिले अनसन र धर्ना स्थगित गराउन सभापति देउवाले सहमहामन्त्री प्रकाशशरण महत र पूर्वसहमहामन्त्री रामशरण महतलाई जिम्मेवारी दिएका थिए । तर महत दाजुभाईले बारा, धनुषा, सर्लाही लगायत जिल्लाको समस्या समाधान गरे । रौतहटको विवाद भने मिलेन । ‘पहिले धेरै जिल्लाका साथीहरूको समस्या थियो, यहाँ धेरै मान्छे थिए,’ धर्नारत एक व्यक्तिले भने, ‘अहिले त हामीमात्रै छौँ, हामीलाई पनि आश्वासन त नदिइएको होइन तर हामीले समस्या समाधान गरेपछि मात्रै अनसन तोड्ने भनेका छौँ ।’ कांग्रेस नेताहरूले भने उनीहरूका माग सम्बोधनमा उति धेरै चासो दिएका छैनन् । सदस्यता विवाद समाधान गर्न बनेको कार्यदलका एक सदस्य भन्छन्, ‘यो समस्या अब यसरी छानबिन गरेर टुंगिदैन । हामीले त्यहाँको समस्या समाधान गरिसकेका छौँ । उहाँहरूको समस्या नेताहरूका बीच राजनीतिक समझदारीका आधारमा मात्रै हुनसक्छ ।’

सदस्यताकै विवाद रहेको रसुवामा भने अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको सदस्यताको विवाद छ । केन्द्रीय निर्वाचन समितिले रौतहट र रसुवासहित अधिवेशन सुरु हुन बाँकी रहेका १३ जिल्लामा एक साथ अधिवेशन सुरु गर्ने तयारी अघि बढाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?