कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

११ अफगान नागरिकलाई अध्यागमनमा बुझाइयो

मातृका दाहाल

काठमाडौँ — भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ जना अफगानिस्तानी ‘शरणार्थी’लाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ ।

११ अफगान नागरिकलाई अध्यागमनमा बुझाइयो

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त प्रयासमा एकै परिवारका ५ सहित ११ अफगान नागरिक सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ परेका थिए ।

सोमबार दिनभरको प्रहरी अनुसन्धानपछि उनीहरुलाई अध्यागमनको जिम्मा लगाइएको हो । अध्यागमन विभागले उनीहरुमाथि विदेशी नागरिक नियमन गर्ने सम्बन्धी प्रचलित कानुन अनुसार कारबाही हुने जनाएको छ । विभागले उनीहरुलाई जुन देशबाट आएका हुन्, जरिवाना असुलेर उतै फर्काउने वा अरु प्रचलित कानुनको बर्खिलाप गरेको आरोपमा कैद/जरिवाना गराएर थुना/कारागार पठाउने विकल्प छ ।

अध्यागमनको जिम्मा लगाइएका उनीहरु काठमाडौं आएर नेपालस्थित संयुक्त राष्ट्रिसंघीय उच्चआयोग (युएनएचसीआर)को कार्यालयको शरणमा पुगेका थिए ।

गृह प्रशासन र सुरक्षा संयन्त्रलाई सुइकोसम्म नदिई युएनएचसीआरले अफगान नागरिकलाई गुपचुप रुपमा ‘अस्थायी बसोबास’का लागि कागजात बनाइदिएको सूचना पाएपछि सशस्त्र प्रहरीले केहीदिन अघिबाट निगरानी बढाएको थियो ।

अरु अफगान नागरिक पनि भित्रिएको हुनसक्ने भन्दै सुरक्षा संयन्त्रबाट थप अनुसन्धान अघि बढ्यो । त्यही क्रममा सिनामंगलको एक होटल र बानियाटारको एक घरमा कोठा भाडा लिएर बसेको खुल्यो । त्यसको बन्दोबस्ती युएनएचसीआरले नै गरेको भेटियो ।

त्यसपछि सोमबार विहानै यस सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अफगान नागरिक बसेको घरमा छापा मारेर नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अफगानिस्तानमा विद्रोही समूह तालिबान सत्तामा आएपछि भारतको बाटो हुँदै नेपाल भित्रिएको खुल्यो ।

ब्युरोका डीआइजी धिराजप्रताप सिंहका अनुसार पक्राउ परेका अफगान नागरिकले ‘आफ्नो देशमा तालिबानबाट असुरक्षित भएपछि भारतको बाटो हुँदै सेल्टर लिन नेपाल आएको’ बताएका छन् । तर, पछिल्लो समय गृहयुद्धको चपेटामा परेका बर्मा, इराक, इरान हुँदै अफगानिस्तानबाट समेत बिना कागजात गैरकानुनी रुपमा विदेशी नागरिक नेपाल भित्रिएर ‘शरणार्थी’का रुपमा बस्ने गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले द्वन्द्वग्रस्त मुलुकबाट पछिल्ला दिनमा विदेशी नागरिकको गैरकानुनी प्रवेशले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितलाई नै असर पर्न सक्ने भन्दै यसलाई बेलैमा निरुत्साहन गर्न आवश्यक सतर्कता अपनाइएको बताए ।

नेपाली सेनाका पूर्वउपरथी बिनोज बस्न्यातले ‘शरणार्थी’ बनेर भित्रिएका विदेशी नागरिकलाई बेलैमा कानुनी दायरामा ल्याउन र सीमा क्षेत्रमा आवश्यक सतर्कता र सुरक्षा जाँचमा कडाई नगर्ने हो भने यो विषय बिकराल बन्न सक्ने चेतावनी दिए । त्यसलाई समेत अहिलेबाटै गम्भीर रुपमा लिएर सीमाबाट हुने गैरकानुनी घूसपैठलाई अहिलेबाटै नियन्त्रण गर्न सुरक्षा संयन्त्रले विशेष तदारुकता देखाउन आवश्यक भएको उनले बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?