१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१४औं महाधिवेशनमा म सभापतिको स्वाभाविक उम्मेदवार : पौडेल

रुपा गहतराज

नेपालगन्ज — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताएका छन् ।

१४औं महाधिवेशनमा म सभापतिको स्वाभाविक उम्मेदवार : पौडेल

नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफनो समूहबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पारे । आफू १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफनो टिमबाट आफूलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने दाबी गरे ।

‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व हो, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं,’ उनले भने ‘केही साथीहरुको आकांक्षा कता–कता सुन्नमा आए पनि सबै साथीहरूसँग छलफल गरेर एउटै उम्मेदवार टुंगो लगाउँछौं ।’ उनले अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताए । ‘दसैं अगाडि नै कार्यसमिति बैठक बोलाउनुुस्, पार्टीको अधिवेशन कसरी समयमा गर्छौँ, छलफल गरौं भनेर मैले भनेको हुँ, अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन,’ पौडेलले भने ।

आफू काठमाडौं फर्केर पनि यस विषयमा पार्टी सभापति देउवालाई भन्ने बताए । ‘पार्टीको अधिवेशन हुनुपर्छ, अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको अवस्था छ,’ पौडेलले भने, ‘वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं ।’

संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने उनको भनाइ छ । पार्टीको अधिवेशन कार्यतालिकाअनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्छ भनेर आफूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए ।

कम्युनिस्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजाँदा सरकारलाई हटाउन बाध्य भएको जनाउँदै उनले अहिले पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्ती दोहोर्‍याउन नहुने बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?