१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हिल्सामा सातादेखि हिमपात

छपाल लामा

हुम्ला — मौसममा खराबीसँगै हुम्लाको हिल्सा क्षेत्रमा सातायता भारी हिमपात भइरहेको छ । हिमपातका कारण नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द भएको छ भने सडक तथा सञ्चार सम्पर्क पनि टुटेको छ ।

हिल्सामा सातादेखि हिमपात

हिल्सास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) सँग पनि सञ्चार सम्बन्ध टुटेको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए । दैनिकजसो हिमपात भइरहेकाले सोलार चार्ज नहुँदा प्रहरी सेटले काम नगरेको उनले बताए ।

गत सोमबार नै हिल्सामा झन्डै ३ फिटसम्म हिउँ परेको उनले जनाए । ‘त्यसपछि भएको हिमपातको अवस्थाबारे हामीलाई पनि जानकारी छैन,’ उनले भने, ‘१/२ दिनमा सञ्चार सम्पर्क भएपछि थप जानकारी आउला ।’ गत बिहीबार हिमपातका कारण लिमीमा अलपत्र परेका स्लोभिनियाका ४ नागरिकसहित ३ स्थानीयलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

हिल्सामा नेपाल टेलिकमको टावर नबनेको कारण पनि सञ्चार सम्पर्क विच्छेद भएको हो । उक्त क्षेत्रमा वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट जडान गरे पनि हिमपातयता सञ्चालनमा छैन । झन्डै ४ हजार मिटरमाथिको उचाइमा रहेको हिल्सामा अहिले सशस्त्र प्रहरीको बीओपीसहित नेपाल प्रहरीको सीमा चौकी पनि छ, दर्जनजति व्यवसायीले होटल कुरेर बसिरहेका बताइएको छ । हिल्सा नजिकैको करिब ५ हजार मिटर उचाइमा रहेको नाराताल क्षेत्रमा पनि बाक्लो हिउँ जमेपछि सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकाको केन्द्र पुग्ने सबै बाटा पुरिएका छन् । ‘हिमपात धेरै भएकाले वैशाखअघि बाटो खुल्ने अवस्था छैन,’ डीएसपी शर्माले भने, ‘हिमपातले हिल्सा आसपासका अन्य बस्तीको जनजीवन पनि प्रभावित बनेको छ ।’

एक साताअघि चीनले सहयोग गरेको खाद्यान्न र औषधि बुझ्न सदरमुकामबाट हिल्सा गएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई सहितको टोली पैदलमार्गबाट सिमकोट फर्किरहेको छ । नाम्खा गाउँपालिका–६ लिमीमा पनि भारी हिमपात भएको छ । उनले लिमी क्षेत्रमा झन्डै ४ फिटसम्म हिउँ परेको जानकारी दिए । चिसोका कारण बाहिर निस्कन सक्ने अवस्था नरहेको लिमीकी छोजुम लामाले टेलिफोनबाट सुनाइन् । उनका अनुसार हिउँले लिमी, मुचु, यारी, यालबाङ, यागार, केर्मीलगायत बस्ती ढाकिएका छन् । ‘पशुचौपायालाई घरभित्रै थुनेर राखेका छौं,’ उनले भनिन्, ‘घरभित्रै आगो तापेर बस्नुको विकल्प छैन ।’

प्रकाशित : कार्तिक ८, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?