कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बागलुङमा औलो !

– बिरामीको सम्पर्कमा आएका सबैको पनि रक्त परीक्षणको तयारी
– चिसो हावापानी हुने क्षेत्रमा लामखुट्टे बाँच्न नसक्ने भएकाले त्यस्तो क्षेत्रमा औलो भेटिनुलाई स्वास्थ्यकर्मीहरू असामान्य मान्छन्
प्रकाश बराल

बागलुङ — चिसो हावापानी भएको पहाडी जिल्ला बागलुङमा औलोका एक जना बिरामी भेटिएका छन् । काठेखोला गाउँपालिका–८ लेखानीस्थित स्वास्थ्य चौकीमा गरिएको आरडीटी परीक्षणमा सिकर्मी काम गर्ने एक २५ वर्षका पुरुषमा मलेरिया (औलो) पोजिटिभ भेटिएको हो ।

‘दुई दिनसम्म ज्वरो आएछ । स्वास्थ्य जाँच गर्न आउनुभएको थियो । रगतको आरडीटी गर्दा पोजिटिभ देखियो,’ स्वास्थ्य चौकी प्रमुख लक्ष्मीप्रसाद निउरेले भने, ‘तर थप परीक्षण गर्दा भने नेगेटिभ देखिएको छ ।’

उनका अनुसार पहिलो रक्त परीक्षणमा रिपोर्ट पोजिटिभ आएकाले पुन: परीक्षणका लागि नमुना जिल्ला तहमा पठाइएको थियो । यसबारे इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा पनि जानकारी गराइएको छ । दुई–तीन दिनभित्रै महाशाखाबाट पनि चिकित्सकको टोली आएर अध्ययन गर्ने उनले जानकारी दिए ।

औलो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । चिसो हावापानी हुने क्षेत्रमा लामखुट्टे बाँच्न नसक्ने भएकाले त्यस्तो क्षेत्रमा औलो भेटिनुलाई स्वास्थ्यकर्मीहरू असामान्य मान्छन् । ती बिरामीको स्वास्थ्य परीक्षणमा समेत सामेल भएकी स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मीदेवी शर्माले यो गम्भीर विषय भएको बताइन् । ‘आरडीटी परीक्षणमात्रै भएकाले समस्या नहुन पनि सक्छ तर सतर्कताका लागि उनको सम्पर्कमा आएका सबैको रगत परीक्षणको तयारी भइरहेको छ,’ उनले भनिन् । बिरामीको सम्पर्कमा आएकालाई सुरक्षित बस्न लगाइएको उनले बताइन् ।

नेपाल सरकारले सन् २०२५ र गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्ममा औलो रोग निवारण गर्ने लक्ष्य लिएका छन् । त्यसका लागि स्वास्थ्य कार्यालयले नियमित परीक्षण अभियानसमेत चलाइरहेको छ । स्वास्थ्य चौकीमार्फत परीक्षण अभियान चलिरहेकै बेला ती बिरामीको परीक्षण भएको र रिपोर्ट पोजिटिभ देखिएको उनको भनाइ छ ।

लामखुट्टे पाइने जुनसुकै स्थानमा पनि औलो देखिन सक्ने भएकाले यो धेरै हल्लाखल्ला गर्नुपर्ने विषय नभएको बताउँछन् स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ । विशेषगरी भारत आउजाउ गर्ने वा अत्यधिक गर्मी हुने तराई क्षेत्रमा बस्ने र त्यहाँबाट आएका व्यक्तिमा यो रोग देखिन सक्ने उनको भनाइ छ । ‘दोस्रो रक्त परीक्षणमा रिपोर्ट नेगेटिभ आइसकेकाले हल्लाखल्ला गर्नुपर्ने विषय होइन तर सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण भने गर्नुपर्छ,’ उनले भने, ‘सामान्यतया यो हावापानीमा औलोको समस्या देखिँदैन ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बागलुङ जस्तो स्थानमा औलोको समस्या नहुने ठोकुवा गरे । ‘बिरामी भारत गएर आएको अवस्था भए भन्न सकिँदैन, नत्र यो परीक्षण नै गलत हो,’ उनले भने, ‘यो हाउगुजी गर्ने विषय छैन ।’ उनले कोही आत्तिनु नपर्नेसमेत बताए । औलो लागेको भए लामो समयसम्म ज्वरो आउने र शरीर कमजोर हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न सुत्दा नियमित झुल टाँग्न, घर वरपर लामो समय पानी जम्न नदिई सरसफाइ गर्न उनले सुझाव दिए ।

जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पनि गर्मी बढेकाले व्यापक रूपमै लामखुट्टे देखिन थालेको निउरे बताउँछन् । ‘यस्तोमा लामखुट्टेजन्य रोगहरू देखिन सक्ने सम्भावना बढेर गएको छ,’ उनले भने । स्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न अभियानमार्फत लामखुट्टेको टोकाइ र रोगबाट बच्नेबारे जनचेतना फैलाइरहेको उनले दाबी गरे ।

प्रकाशित : कार्तिक ७, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?