कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

बेल्जियममा काम दिलाउने भन्दै बैंकक पुर्‍याउने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — बेल्जियममा काम लगाइदिने आश्वासन दिएर एक नेपाली महिलालाई बैंकक पुर्‍याएर बेचबिखन गरेको आरोपमा प्रहरीले ४४ वर्षीय राजेन्द्र खड्कालाई पक्राउ गरेको छ ।

बेल्जियममा काम दिलाउने भन्दै बैंकक पुर्‍याउने पक्राउ

बाग्लुङको गल्कोट नगरपालिका–४ घर भएका उनले थाइल्यान्डमा ८ वर्षदेखि कपडा पसल सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार खड्काले कमल बस्नेतका माध्यमबाट चिनजान भएकी लमजुङकी २६ वर्षीया महिलालाई बेल्जियमको होटलमा मासिक डेढ लाख रुपैयाँसम्म तलब हुने गरी हेल्पर काममा लगाइदिने प्रलोभनमा पारी ८ लाख ५४ हजार रुपैयाँ लिएर बैंकक पुर्‍याएका थिए ।

खड्काले २ वर्षअघि ती महिलालाई भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्यान्ड र कम्बोडिया सम्म पुर्‍याएको पाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी अनुराग द्विवेदीले बताए । ती महिलालाई खड्काले थाइल्यान्डमा पुर्‍याई १५ दिनसम्म कोठामा राखेको र भारतीय पर्विन्दर सिंहसमेतलाई ल्याई यौन शोषण गराएको र कसैलाई भने ज्यान लिने धम्कीसमेत दिएको खुलेको छ । खड्काले बैंककबाट मलेसिया पठाएपछि ती महिला अलपत्र परेकी थिइन् ।

पछि उनी आफन्तको सम्पर्कमा आएर १५ मार्च २०२० मा भारतको कोलकाता हुँदै नेपाल फर्किइन् । पीडित महिलाले गत असोज १८ मा ब्युरोमा दिएको किटानी जाहेरीका आधारमा खड्कालाई बिहीबार सिनामंगलबाट पक्राउ गरिएको एसपी द्विवेदीले बताए ।

प्रकाशित : कार्तिक ७, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?